Logo

खेलकुदको बजेट यसबर्ष पनि घट्यो

ई-खेलकुद २०७९ जेठ १५ , आईतबार ०७:०५ मा प्रकाशित

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षको बजेटमा खेलकुद क्षेत्रको आकार घटाएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज प्रस्तुत गरेको बजेट अनुसार यसबर्ष युवा तथा खेलकुद मन्त्रालयको बजेट २८ करोडले घटेको हो । चालु आर्थिक बर्षमा पनि अघिल्लो बर्षको तुलनामा कम बजेट विनियोजन गरिएको थियो । आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्व ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको अर्थमन्त्री शर्माले बताए । चालु बर्ष मन्त्रालयले २ अर्ब ७४ करोड बजेट विनियोजन भएको थियो ।

राखेपलाई २ अर्ब ९ करोड
सरकारले राष्ट्रिय खेलकुद परिषद्लाई २ अर्व ९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । घरेलु खेलकुदको सर्बोच्च संस्था राखेपमार्फत नै पुर्वाधार विकास तथा अन्य क्षेत्रमा बजेट विनियोजन हुनेछ ।

पुर्बाधार निर्माणमा ८७ करोड
नयाँ आर्थिक वर्षमा खेल पूर्वाधारमा ८७ करोड रुपैयाँ बजेटको विनियोजन गरिएको छ । सरकारले खेलकुद पर्यटनको प्रवर्द्धनका लागि सार्वजनीक नीजि साझेदारीमा शाहसीक तथा पर्वतीय खेलकुदका पूर्वाधार निर्माण तथा सञ्चालन गर्न प्रोत्साहन गरिने व्यवस्था बजेटमा गरेको छ । जुम्लाको कोप्लापाटन लगायतका स्थानमा हाइअल्टिच्युड एण्ड स्पोर्टस सेन्टर स्थापना गर्न बजेट विनियोजन गरिएको छ ।

मुलपानीको निर्माण सम्पन्न गर्ने किर्तिपुरमा रात्रीकालिन खेल हुने
सरकारले आगामी आर्थिक बर्षभित्र मुलपानी क्रिकेट मैदानको निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । साथै कीर्तिपुरस्थित त्रिवि मैदानमा रात्रिकालिन खेल सञ्चालन गर्न सकिने गरि फ्लड लाईट राख्न आवश्यक बजेट विनियोजन गरेको बताएको छ । त्यस्तै चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय खेल मैदानको निर्माण कार्य पुरा गरिने बताए ।

नवौ र दशौं खेलकुदका लागि बजेट
सरकारले यसै बर्ष गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि आवश्यक रकम विनियोजन गरेको छ । त्यस्तै कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदका लागि आवश्यक पुर्वाधारण निर्माण गरिने बताएका छन् । सरकारले स्थानीय तह खेल ग्राम कार्यक्रमलाई निरन्तरता दिदै बाँकेको कोहलपुरमा महिला क्रिकेट एकेडेमी निर्माण र रंगशालाका लागि आवश्यक बजेट विनियोजन गरेको बताएको छ ।

खेलाडीको विमा
सरकारले अन्तराष्ट्रिय तथा राष्ट्रिय खेलकुदमा प्रतियोगितामा सहभागी सम्पुर्ण खेलाडीको विमाको प्रबन्ध गरिने व्यवस्था बजेटमा मिलाएको छ । एसियाली र ओलम्पिक खेलमा पदक विजेता खेलाडीलाई आजिवन भत्ताको व्यवस्था बजेटमा गरिएको मन्त्री शर्माले उल्लेख गरे ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?