Logo

एट्लेटिको मड्रिड उपाधिनजिक, रियलको संभावना कायमै, बार्साको सकियो

ई-खेलकुद २०७८ जेठ ३ , सोमबार ०८:०५ मा प्रकाशित

एजेन्सी । एट्लेटिको मड्रिड स्पेनिस ला लिगा फुटबलको उपाधि नजिक पुगेको छ । ३७ औ चरणको खेलमा गएराती ओसासुनालाई २–१ गोल अन्तरले हराउदै एट्लेटिको मड्रिडले शीर्ष स्थानमा २ अंकको अग्रता बनाएको हो । वान्डा मेट्रोपोलिटानोमा एट्लेटिकोलाई जिताउन रेनान लोडी र लुइस स्वारेजले एक–एक गोल गरे । ओसासुनाका एन्टे बुड्मिरले एक गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७५औँ मिनेटमा बड्मिरले गोल गर्दै ओसासुनालाई अग्रता दिलाए । ८२ औँ मिनेटमा लोडीले गोल गरेपछि एट्लेटिको बराबरीमा फर्कियो । खेलसकिन २ मिनेट बाँकि रहदा स्वारेजले गोल गर्दै एथ्लेटिकोको जित सुनिश्चित गरे । जितसँगै शीर्ष स्थानको एथ्लेटिकोले ३७ खेलमा ८३ अङ्क जोडेको छ ।
गएरातीनै दोस्रो स्थानको रियल मड्रिडले एथ्लेटिको बिल्बाओमाथि १–० गोलको साघुँरो जित निकाल्यो । बिल्बाओको मैदानमा गएराती भएको खेलमा नाचोले गरेको एकमात्र गोल उसको जितमा निर्णायक बनेको थियो । उनले ६८औँ मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । अन्तिम केहि मिनेट घरेलु टोली एथ्लेटिको बिल्बाओ दस खेलाडीमा सीमित बनेको थियो । ८९ औँ मिनेटमा राउल गार्सियाले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि घरेलु टोली १० खेलाडीमा समेटिएको थियो । जितसँगै दोस्रो स्थानको रियलको ३७ खेलबाट ८१ अङ्क भएको छ ।
उता बार्सिलोनाको उपाधि संभावना भने सकिएको छ । गएराती सेल्टा डि भिगोसँग २–१ गोलले पराजित भएसँगै बार्सिलोनाको उपाधि सम्भावना समाप्त भएको हो । पराजयसँगै ३७ खेलमा ७६ अङ्क जोडेको बार्सिलोना तेस्रो स्थानमा सीमित बनेको छ । घरेलु मैदान क्याप नोउमा बार्साले खेलमा अग्रता बनाएपनि त्यसलाई जोगाउन सकेन् । २८औँ मिनेटमा कप्तान लियोनल मेस्सीले गोल गर्दै बार्सालाई अग्रता दिलाएका थिए । ३८औँ मिनेटमा सान्ती मिनाले गोल गर्दै सेल्टालाई खेलमा फर्काए । खेलको ८३औँ मिनेटमा क्लिमेन्ट लेङ्गलेटले रातो कार्ड पाएपछि बार्सिलोना दस खेलाडीमा सीमित बनेको थियो । खेल सकिन एक मिनेट बाँकी रहेको अवस्थामा मिनाले दोस्रो गोल गर्दै सेल्टालाई महत्वपुर्ण जित दिलाए ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?