Logo

संकटासँग मनाङको रोमाञ्चक बराबरी

ई-खेलकुद २०७८ मंसीर १८ , शनिबार ०४:१२ मा प्रकाशित

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आजको पहिलो खेल बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा मनाङ मस्र्याङदी र संकटा क्लबले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

नियमित समयको खेलमा २–१ गोल अन्तरले पछि परेको मनाङले ईन्ज्युरी समयमा गोल गर्दै हार रोकेको थियो । ३१ औं मिनेटमा निरज बस्नेतले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । त्यसको ४ मिनेटपछि नै दयानन्द सिंहले गोल गर्दै मनाङलाई बराबरीमा ल्याए । रोमाञ्चक खेलको दोस्रो हाफ दुबै टोलीले आक्रामक खेल खेलेका थिए । ७० औ मिनेटमा उत्तम राईले गोल गर्दै संकटालाई २–१ को अवस्थामा पुर्याए । उतम ६५ औं मिनेटमा सुवास गुरुङको स्थानमा मैदान प्रवेश गरेका थिए । खेलको इन्जुरी समयमा फ्रान्कलिन क्वेटाले गोल गर्दै मनाङको हार टारेका थिए ।

बराबरीसँगै मनाङले ३ खेलमा ७ अंक जोडेको छ । मनाङ तालिकाको दोस्रो स्थानमा यथावत रहेको छ । संकटा भने एक जित र २ बराबरीसँगै ५ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । खेलमा संकटका टाम्पी अर्नेस्ट म्यान अफ दि म्याच चुनिए ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?