एजेन्सी । विश्वकप फुटबलको युरोपेली छनोटमा स्विडेनले स्पेनलाई हराएको छ । गएराती भएको खेलमा स्विडेन २–१ गोल अन्तरले विजयी भएको हो । स्विडेनको मैदानमा घरेलु टिमलाई जिताउन एलेक्जेन्डर इसक र भिक्टर क्लासनले गोल गरे । स्पेनका कार्लोस सोलरले एक गोल फर्काए ।
खेलमा अग्रता भने स्पेनले चौथो मिनेटमा बनाएको थियो । खेलको सुरुवातमैसोलेरले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । त्यसको एक मिनेटलगत्तै इसकले गोल गर्दै स्विडेनलाई खेलमा फर्काए । खेलको ५७औँ मिनेटमा क्लासनले गोल गर्दै स्विडेनको जित सुनिश्चित गरे ।
जितसँगै स्विडेनले स्पेनलाई पछि पार्दै समूह ‘बी’को शीर्ष स्थानमा पुगेको छ । तीन खेलबाट स्विडेनको ९ अंक भएको छ । चार खेल खेलिसकेको स्पेन भने ७ अंकमा समुहको दोस्रो स्थानमा छ ।