Logo

युरोकप फुटबलमा आज ईङल्याण्ड र जर्मनी तथा स्विडेन र युक्रेन भिड्दै

ई-खेलकुद २०७८ असार १५ , मंगलबार ०७:०६ मा प्रकाशित

एजेन्सी । युरोपका विभिन्न ११ सहरमा जारी १६औँ संस्करणको युरो कप फुटबल प्रतियोगितामा आज प्रिक्वार्टरफाईनलमा अन्तिम दुई खेल हुँदै छन् । आज ईङल्याण्ड र जर्मनी तथा स्विडेन र युक्रेन प्रतिस्पर्धा गर्नेछन् । आजका खेलपछि प्रतियोगीताको क्वार्टरफाईनल समिकरण पुरा हुनेछ । यसअघि स्विट्जरल्यान्ड, स्पेन, बेल्जियम, इटाली, चेक रिपब्लिक र डेनमार्क अन्तिम आठमा पुगिसकेका छन् ।
दिनको पहिलो खेलमा नेपाली समयानुसार राती पौने १० बजे इङ्ग्ल्यान्ड र जर्मनी आमने सामने हुनेछन् । लन्डनस्थित वेम्बली स्टेडियममा हुने खेलमा घरेलु टोली सहज जितसंगै अघिल्लो चरण प्रबेशको योजनामा रहेको छ । जर्मनीपनि ईङल्याण्डलाई उसैको मैदानमा हराउदै क्वार्टरफाईनल प्रबेशको लक्ष्यमा छ ।
इङ्ग्ल्यान्ड समूह ‘डी’ बाट अपराजित रहँदै समूह विजेताको रूपमा प्रि–क्वार्टरफाइनलमा स्थान बनाएको थियो । जर्मनी भने समूह ‘एफ’ को उपविजेता टोली हो । युरो कपमा इङ्ग्ल्यान्ड र जर्मनी तेस्रो पटक भिड्न लागेका हुन् । यसअघिको दुई खेलमा दुवै टोलीले एक एक जित निकालेका थिए ।
दिनको दोस्रो खेलमा राति पौने १ बजे स्विडेन र युक्रेन प्रतिस्पर्धा गर्नेछन् । यी दुई टोलीबिचको प्रतिस्पर्धा स्कटल्यान्डको ह्याम्पडेन पार्कमा हुनेछ । स्विडेन समूह ‘ई’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो भने युक्रेन समूह ‘सी’को तेस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेको टोली हो । यी दुई टोली युरोकपमा पाँचौँ पटक प्रतिस्पर्धा गर्न लागेका हुन् । यस अघिको चार भेटमध्ये युक्रेनले २ जित हात पारेको छ। एक खेल स्विडेनले जित्दा एक खेल बराबरीमा सकिएको छ ।

 


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?