Logo

बिमलाको ह्याट्रिकमा आर्मीको फराकिलो जित

ई-खेलकुद २०७७ माघ ११ , आईतबार ०३:०१ मा प्रकाशित

काठमाण्डौ । विभागीय टोली त्रिभुवन आर्मीले राष्ट्रिय महिला लिग फुटबलमा पहिलो जित हात पारेको छ । आफ्नो दोस्रो खेलमा वालिङ नगरपालिकालाई ७–० को फराकिलो अन्तरले हराउदै आर्मीले महत्वपुर्ण अंक हात पारेको हो । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पहिलो हाफमा ३–० को अग्रता बनाएको आर्मीले दोस्रो हाफमा ४ गोल थप्दै शानदार जित हात पारेको हो । उसको जितमा बिमला चौधरीले ह्याट्रिक गरिन् । दिपा राई, शर्मिला थापा, भुजुङ्गा राई र हेमा चौधरीले एक एक गोल थपे ।
३ क्यामरुनी खेलाडीसहित मैदान उत्रिएको वालिङबिरुद्ध आर्मीले १४ औं मिनेटमा विमलाको गोलमा अग्रता बनाएको थियो । २८ औं मिनेटमा दिपाले आर्मीको अग्रता दोब्बर पारिन् । ४४ औं मिनेटमा शर्मिलाले गोल गर्दै पहिलो हाफमै विभागीय टोलीलाई बलियो अवस्थामा पुर्याएकी थिईन् ।
६६ औं मिनेटमा विमलाले व्यक्तिगत दोस्रो गोल गर्दा आर्मी ४–० को अवस्थामा पुग्यो । उनैले ७५ औ मिनेटमा गोल गर्दै ब्यक्तिगत ह्याट्रिकसंगै टोलीलाई बलियो अवस्थामा पुर्याईन् । ८९ औं मिनेटमा हेमाले तथा खेलको इन्जुरी समयमा भुजुङ्गाले गोल गरेपछि आर्मी शानदार जित निकाल्न सफल बन्यो । जितसंगै आर्मीले २ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा आर्मी नेपाल पुलिस क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो । वालिङको यो पहिलो हार हो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?