काठमाडौं । आसन्न टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटका लागि बन्द प्रशिक्षणमा बस्न असन्तुष्ट समूहका खेलाडीहरु होटल पुगेका छन् । नेपाल क्रिकेट संघ क्यानसँग हिजो भएको सहमती अनुरुप असन्तुष्ट खेलाडीहरु होटल रमादा पुगेका हुन् । पुर्ब कप्तान ज्ञानेन्द्र मल्लसहित कमलसिंह ऐरी, दीपेन्द्र ऐरी, अभिनाश बोहरा, रोहित कुमार पौडेल, कुशल भुर्तेल र सन्दीप जोरा होटलमा पुगेका हुन् । करण केसी र सोमपाल कामी भने बाहिर रहेकाले आज होटल पुग्न सकेनन् । उनीहरु भोलीबाट मैदानको प्रशिक्षणमा सहभागी हुने प्रशिक्षक पुबुदु दाशानायकेले बताए ।
होटल पुगेका खेलाडीहरुले कोरोना परिक्षण समेत गराइसकेका छन् । सेन्ट्रल कन्ट्रयाकका बिषयमा मिडियामा अनर्गल प्रभार गरेको भन्दै क्यानले मल्ल र उपकप्तान दिपेन्द्रसिंह ऐरीसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई ६ महिना प्रतिबन्ध लगाएको थियो । साथै कप्तानको जिम्मेबारीपनि खोसेको थियो । हिजोको सहमतीपछि चार खेलाडीको प्रतिबन्ध फुकुवा भएपनि कप्तानको जिम्मेबारी सन्दिप लामिछानेलाई नै कायम गरिएको छ ।
टि–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत समूह ए को खेल सन् २०२२ फेब्रुअरी १५ देखि २५ सम्म ओमानमा आयोजना हुनेछ । समूह ए मा नेपालसँगै आयरल्यान्ड, ओमान, युएई, फिलिपिन्स, जमर्नी, क्यानडा र बहराइन छन् । समूहको शीर्ष दुई टोलीले अष्ट्रेलियामा हुने टि२० विश्वकपमा स्थान पक्का गर्नेछन् ।