Logo

पारस खड्का– नेपाली क्रिकेटको पर्याय

ई-खेलकुद २०७७ कात्तिक ७ , शुक्रबार ०४:१० मा प्रकाशित

काठमाण्डौ । नेपाली क्रिकेट अहिले जुन उचाईमा छ, त्यसको एउटा पाटोका रुपमा पुर्बकप्तान पारस खड्का रहेका छन् । आजपनि समग्र नेपाली क्रिकेट पारसमै केन्द्रित छ । निक्कै कठिन अवस्थामा रहेको घरेलु क्रिकेटलाई एकदशक नेतृत्व दिदै पारसले नेपाललाई एकदिवसीय राष्ट्रको मान्यता दिलाएका थिए ।

उनकै नेतृत्वमा नेपालले सन् २०१४ मा बंगलादेशमा ट्वान्टी २० विश्वकप समेत खेलेको थियो । सन् २००४ बाट उमेर समुहबाट राष्ट्रिय जर्सीमा देखिएका उनले सन् २००९ देखी २०१९ अक्टोबर १४ सम्म राष्ट्रिय टोलीको कप्तानको जिम्मेबारी निभाएका थिए । राष्ट्रिय टोलीबाट बनेका अधिकांश रेकर्ड उनकै नाममा छन् ।

अलराउण्डरको भुमिकामा रहेका पारस ब्याटिङ, बलिङ र फिल्डिङमा मात्र होईन मैदानमा टोलीको एक कुशल अभिभावक समेत हुन् । जस्तोसुकै कठिन परिस्थितीलाई पनि कुशलतापुर्बक वशमा लिन सक्ने खुबी उनको सबैभन्दा ठुलो बिशेषता हो ।

अन्तराष्ट्रिय क्रिकेटमा शतक बनाउने छैटौ क्रिकेटर समेत रहेका पारस एकदिवसीय र ट्वान्टी २० क्रिकेटमा अन्तराष्ट्रिय शतक प्रहार गर्ने पहिलो नेपाली क्रिकेटर हुन् । कुवेतबिरुद्ध सन् २०१२ को एसीसी ट्रफिमा उनले ७७ बलमा १ सय ६ रन प्रहार गरेका थिए ।

त्यस्तै युएईबिरुद्ध सन् २०१९ को जनवरी २८ मा उनले शतक बनाउदै वन डेतर्फपनि किर्तिमान बनाएका थिए । सिंगापुरबिरुद्ध उसैको मैदानमा सन् २०१९ को सेप्टेम्बर २८ मा शतक प्रहार गर्दै ट्वान्टी २० तर्फको पहिलो अन्तराष्ट्रिय शतकपनि आफ्नो नाममा लेखाएका थिए ।
उनकै नेतृत्वमा नेपालले सन् २०१० मा आईसीसी बल्र्ड क्रिकेट लिग डिभिजन फाईभको उपाधि जितेको थियो । त्यसको २ बर्षपछि डिभिजन फोर र सोहि बर्ष एसीसी ईलाईट ट्रफिको समेत उपाधि उचालेको थियो । २०१३ मा बर्मुडामा भएको आईसीसी बल्र्ड क्रिकेट लिग डिभिजन थ्री र त्यसको १ बर्षपछि सन् २०१४ मा मलेसीयामा भएको डिभिजन थ्रीको उपाधि पनि हात पारेको थियो ।
६ अन्तराष्ट्रिय एकदिवसीयमा २ सय ३५ रन र ९ विकेट लिएका पारसले १५ ट्वान्टी २० खेलमा ७ सय ७४ रन र २ विकेट लिएका छन् । ४० लिष्ट ए खेल समेत खेलेका उनले १ हजार ४ सय १७ रन र २६ विकेट आफ्नो नाममा लेखाएका छन् ।

मैदानमा तत्काल रणनिती तयार पार्नसक्ने क्षमता समेत भएका पारस कप्तानको भुमिकाबाट टाढिएपनि राष्ट्रिय टोलीको मियोका रुपमा अझे सक्रिय छन् । ३३ औ बसन्तमा प्रबेश गरेका खड्का नेपाली क्रिकेटले कालान्तरसम्म सम्झने एउटा धरोहरका रुपमा रहेका छन् ।

नेपाली क्रिकेट भन्नासाथ विश्वले नै पारस खड्कालाई चिन्ने अवस्था छ । भलै अन्तराष्ट्रिय फ्रेन्चाईज लिगमा अन्य खेलाडीले त्यसको प्रतिनिधित्व गरुन् । एसोसिएट राष्ट्रको कप्तानबाट विश्व क्रिकेटमा अमिट छाप छाड्न सफल कप्तान पारसलाई आगामी दिनका लागि थप शुभकामना । आजबाट ३३ बर्षमा प्रबेश गरेका पारसको खाँचो नेपाली क्रिकेटले अझै महसुस गरिरहेको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?