Logo

नेपाललाई पहिलो टि–ट्वान्टी सिरिजको उपाधि

ई-खेलकुद २०७८ वैशाख ११ , शनिबार ०४:०४ मा प्रकाशित

काठमाण्डौ । नेपालले घरेलु मैदानमा आयोजित त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको उपाधि जितेको छ । आज भएको फाईनलमा चीरप्रतिद्धन्दी नेदरल्याण्ड्सलाई १ सय ४२ रनको फराकिलो अन्तरले हराउदै नेपालले उपाधि घरमै राखेको हो । नेपालले पहिलो पटक टि–२० सिरिजको उपाधि जितेको हो । पछिल्लो दशकमा नेपालले टि–२० विश्वकप क्रिकेट खेलिसकेपनि यो फर्मेटको उपाधि भने पहिलो पटक हात परेको हो ।
नेपालले दिएको २ सय ३९ रनको उच्च चुनौती पछ्याउने क्रममा डच टोली १७ दशमलव २ ओभरमा ९६ रनमा समेटियो । सेवास्तीयन बराटले बनाएको २६ रननै डच टोलीको सर्बाधिक स्कोर रह्यो । म्याक्स ओडोएडले २० र कप्तान पिटर सेलारले १३ रन बनाए । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
नेपालका करण केसीले ३ तथा कमलसिंह ऐरी र सन्दिप लामिछानेले समान २ विकेट लिए । अबिनाश बोहोराको नाममा एक विकेट रह्यो । नेदरल्याण्ड्सका २ मयाट्सम्यान रनआउट भएका थिए ।


यसअघि किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा ३ विकेट गुमाएर २ सय ३८ रनको बिशाल योगफल तयार पारेको थियो । यो स्कोर जारी प्रतियोगीताकै सबैभन्दा ठुलो स्कोर हो । त्यस्तै नेपालले आफ्नो विपक्षिलाई दिएको पनि सर्बाधिक उच्च स्कोर हो ।
फाईनलमा उत्कृष्ट ब्याटिङ गर्दै कुशल भुर्तेलले ७७ रन बनाए । ५३ बल खेलेका भुर्तेलले ८ चौका र ३ छक्का प्रहार गरे । जारी सिरिजको उनको यो चौथो अर्धशतक हो । कुशल मल्लले अबिजित ५० रन बनाएको नेपालको ईनिङसमा दिपेन्द्रसिंह ऐरीले नटआउट ४८ र कप्तान ज्ञानेन्द्र मल्लले ३३ रन बनाए । आसिफ शेखले १६ रन जोडे । मात्र १८ बल खेलेका ऐरीले ५ चौका र ३ छक्का प्रहार गरे ।
नेदरल्याण्ड्सका फिलिप्पे बोईसेभिनले २ विकेट लिए । सेवास्तीयन बराटले एक विकेट लिए ।

मलेसीया समेत सहभागी सिरिजमा नेपाल शीर्ष स्थानमा रहेर फाईनल पुगेको थियो भने नेदरल्याण्ड्सले दोस्रो स्थानमा रहदै उपाधिका लागि प्रतिस्पर्धा गरेको हो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?