Logo

नेपालमा एकै नाममा २ वटा क्रिकेट मैदान बन्दै

ई-खेलकुद २०७७ कात्तिक ३० , आईतबार ०७:११ मा प्रकाशित

काठमाण्डौ । जनस्तरबाट चितवनमा धुर्मुस सुन्तली फाउण्डेशनले गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माण गरिरहेका बेला रुपन्देहीमा पनि सोहि नाममा अर्को क्रिकेट मैदान बन्ने भएको छ ।
जिल्लाको सैनामैनामा नेपालकै ठूलो क्रिकेट रंगशाला निर्माणको काम सुरु भएको हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नै नामाकरण गरिएको सो रंगशाला १५ बिगाहा क्षेत्रफलमा निर्माण हुनेछ ।
सैनामैना नगरपालिकाले सो रंगशाला निर्माणका लागि बजेट नै विनियोजन गरी काम अघि बढाएको हो । सैनामैना ७ लम्टैयामा निर्माण हुने रंगशालाका लागि यस वर्ष एक करोड बजेट छुट्याईएको छ ।

धुर्मुस सुन्तली फाउन्डेसनलाई दिएर आफ्नो नगरक्षेत्रमा रंगशाला बनाउने प्रयास असफल भएपछि नगरपालिकाले आफ्नै अग्रसरतामा रंगशाला निर्माणको काम अघि बढाएको हो ।
२ अर्ब १९ करोड रुपैयाँ लागत अनुमान गरिएको रंगशाला ९० याडको रहने नगरपालिकाले जनाएको छ ।

यो नेपालमा रहेका र निर्माण भईरहेका मध्येकै सबैभन्दा ठुलो रहेको नगरप्रमुख चित्र बहादुर कार्कीले बताउनुभयो ।

पर्यटनसंगै खेलकुदलाई पनि अघि बढाउने नगरको लक्ष्य अनुरुप रंगशाला निर्माणको कामलाई गति दिईएको कार्कीले बताउनुभयो । प्रदेश र संघीय सरकारको समेत आर्थिक सहायता प्राप्त गरेको नगरपालिकाले बजेट व्यवस्थापन गरेर यसै वर्ष ठेक्का प्रक्रियामा लैजाने जनाएको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?