Logo

नाडाल अष्ट्रेलियन ओपनबाट बाहिरिए, सितसिपास सेमिफाईनलमा

ई-खेलकुद २०७७ फागुन ६ , बिहीबार ०९:०२ मा प्रकाशित

एजेन्सी । २० पटकका ग्राण्डस्लाम विजेता स्पेनी राफायल नाडाल अष्ट्रेलियन ओपन टेनिसको क्वार्टरफाईनलबाटै बाहिरिएका छन् । मेलबर्नमा भएको अन्तिम आठको प्रतिस्पर्धामा नाडाल ग्रीसका स्टेफानोस सितसिपाससंग ३–२ को सेटले पराजित भएका हुन् । सुरुवाती २ सेटमा ६–३ र ६–२ को जित निकालेका नाडालले त्यसपछिका तीनै सेट गुमाएका थिए । तेस्रो सेट ६–७ ले गुमाएका उनले चौथो र पाँचौ सेटमा ४–६ र ५–७ ले सितसिपासले सुम्पिएका थिए ।
यो हारसंगै नाडालको २१ औ ग्राण्डस्लाम जित्ने सपना समेत चकनाचुर भएको छ । अर्को क्वार्टरफाईनलमा आफ्नै मुलुकका एण्ड्री रुभलेभलाई सोझो सेटले हराउदै रसियन डानिल मेदभेदेवले सेमिफाईनल यात्रा तय गरेका छन् ।
मेदभेदेवले ७–५, ६–३ र ६–२ को जित निकाल्दै अघिल्लो चरणमा स्थान बनाएका हुन् । यो संगै पुरुष एकलतर्फको सेमिफाईनल समिकरण पुरा भएको छ । सेमिफाईनलमा सितसिपासले मेदभेदेवसंग खेल्नेछन् ।
अर्को सेमिफाईनलमा शीर्ष वरियताका सर्बियन नोभक जोकोभिच र रसियन एस्लान कारात्सेभ प्रतिस्पर्धा गर्नेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?