Logo

त्रिकोणात्मक सिरिज मार्चबाट गर्ने तयारी

ई-खेलकुद २०७७ मंसीर १ , सोमबार ०८:११ मा प्रकाशित

काठमाण्डौ । एकदिवसीय विश्वकप क्रिकेटको छनोटको रुपमा रहेको आईसीसी क्रिकेट वल्र्डकप लिग टुका खेलहरु आगामी मार्चबाट सुरु गर्ने तयारी थालिएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले मार्च दोस्रो साताबाट प्रतियोगीता सुरु गर्ने भन्दै सहभागी सातै राष्ट्रका क्रिकेट संघसंग परामर्श थालेको हो ।

आईसीसीले नेपाल क्रिकेटसंघसंगै स्कटल्याण्ड, नामिबिया, पपुवा न्युगीनी, अमेरिका, ओमान र युएईको बोर्डसंग परामर्श थालेको हो । आईसीसीको प्रस्तावमा अधिकांश मुलुक सकारात्मक रहेकाले मार्चको दोस्रो साताबाट लिग टुका सिरिज सुरु हुने संभावना बढेको हो ।

कोभिड सक्रमणका कारण लिग टु का ५ वटा त्रिकोणात्मक सिरिज स्थगीत भएका छन् । जसमा नेपालले खेल्ने ३ वटा सिरिज रहेका छन् । योबिचमा नेपालले नामिबिया, पपुवा न्यु गीनी र स्कटल्याण्डको भ्रमण गर्ने तालिका थियो ।

अब सिरिज सुरु गर्दा स्थगीत सिरिजलाई पहिला गर्ने कि तय भएका सिरिजलाई निरन्तरता दिएर रोकिएका सिरिजलाई पछि सार्ने भन्ने निर्णय आईसीसीले सबै मुलुकसंगको छलफलपछि गर्नेछ ।

लिग टु मा नेपालले एउटा मात्र त्रिकोणात्मक सिरि खेल्न पाएको छ । घरेलु मैदानमा नेपालले ओमान र अमेरिकासंग गत फेब्रुअरीमा प्रतिस्पर्धा गरेको थियो । जसमा २ जित र २ हारको नतिजा निकालेको थियो ।

लिग टुमा ओमान १६ अंकमा तालिकाको शीर्ष स्थानमा छ । अमेरिका १२ अंकमा दोस्रो र स्कटल्याण्ड ९ अंकमा तेस्रो स्थानमा छ । सबैभन्दा कम खेल खेलेको नेपाल भने ४ अंकमा तालिकाको छैटौ स्थानमा छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?