काठमाडौं । तेस्रो तथा निर्णायक एकदिवसीय क्रिकेटमा जिम्बाब्वेको ए टोलीले नेपालसामु २ सय १४ रनको चुनौती प्रस्तुत गरेको छ । किर्तिपुरस्थित बित्रि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको भ्रमणकारी टोली ३२ दशमलव १ ओभरमा २ सय १३ रनमा अलआउट भएको हो । ओसिलो आउटफिल्डका कारण ढिला सुरु भएको खेल ३३ ओभरमा झारिएको थियो । जिम्बाब्वेका लागि ताडिवान्से मारुमानीले सर्बाधिक ५० रन बनाए । खुदजाइ माउन्जेले ३९ र रोए कियाले ३६ रन जोडे । कप्तान टोनी मुनयोंगाले २४ रन बनाए । नेपालका किशोर महत्तोले ५ तथा सोमपाल कामीले २ विकेट लिए । करण केसी र दिपेन्द्रसिंह ऐरीको नाममा एक विकेट रह्यो । जिम्बाब्वेका एक ब्याट्सम्यान रनआउट भएका थिए ।
तीन म्याचको सिरिज एक एकको बराबरीमा रहेकाले दुबै टोली आजको खेल जित्दै सिरिज कब्जा गर्ने योजनामा रहेका छन् । पहिलो खेलमा ३ विकेटको हार भोगेको नेपालले दोस्रो खेलमा ७ विकेटको प्रभावशाली जित निकालेको थियो ।