Logo

जावलाखेललाई हराउँदै सातदोबाटो क्वाटरफाइनलमा

ई-खेलकुद २०७८ फागुन २१ , शनिबार ०६:०३ मा प्रकाशित

झापा । सातदोबाटो युथ क्लबले पाँचौ संस्करणको झापा गोल्डकपमा विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा जावलाखेल युथ क्लबलाई पेनाल्टि सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै सातदोबाटोले क्वाटरफाइनलमा स्थान बनाएको हो ।

रोमाञ्चक बनेको ललितपुरे डर्बीको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टि सुटआउटबाट गरिएको हो । पेनाल्टीमा सातदोबाटोका आकाश बुढा मगर, प्रशान्त अवस्थी, मान बहादुर तामाङ र अजयी मार्टिनले गोल गरे । जावलाखेलका सुरज ज्यु ठकुरी र ओन्गुना जुनियरले गोल गरे । कुलदिप कार्कीको प्रहार सातदोबाटोका गोलरक्षक अशोक बरालले बचाएका थिए । गौरव श्रेष्ठको प्रहार भने बाहिरिएको थियो ।

पेनाल्टिअघि बिर्ताबजारस्थित डोमालाल रंगशाला खेलको चौथो मिनेटमै सातदोबाटोले अग्रता लिएको थियो । अजयी मार्टिन्सले गोल गर्दै सातदोबाटालाई अग्रता दिलाए । तर उसको अग्रता लामो समय टिक्न सकेन् । १२ औं मिनेटमा ओन्गुना जुनियरले गोल गर्दै जावलाखेललाई बराबरीमा ल्याए । खेलको ३४ औं मिनेटमा जुनियरले अर्को गोल थपेपछि पहिलो हाफमा जावलाखेल २–१ ले अघि रहेको थियो । दोस्रो हाफको तेस्रो मिनेटमा आशिष राईले गोल गर्दै सातदोबाटोलाई २–२ को अवस्थामा पुर्याए ।

त्यसपछिको समयमा दुबै टोलीले थप गोल गर्न नसक्दा खेलको निर्णय पेनाल्टि सुटआउटबाट गरिएको हो । खेलमा सातदोबाटोका गोलरक्षक अशोक बराल म्यान अफ दि म्याच घोषित भए । उनले ९ हजार ९ सय ९९ रुपैया प्राप्त गरे । सातदोबाटोले सेमिफाइनलका लागि विभागीय टोली नेपाल एपीएफको सामना गर्नेछ ।

प्रतियोगीतामा भोली नेपाल पुलिस र संकटा क्लब प्रतिस्पर्धा गर्नेछन् । फागुन ३० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार र उपबिजेताले नगद ६ लाख पाँच हजार रुपैयाँ पाउँनेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?