Logo

चौथो संस्करणको झापा स्पोर्टस अवार्ड आज

ई-खेलकुद २०७७ फागुन २८ , शुक्रबार ०८:०३ मा प्रकाशित

झापा । झापा स्पोर्टस् अवार्डको चौथो संस्करण आज हुदैछ । मेची अञ्चलभरका खेलाडीहरुको सम्मानमा विगत ३ बर्षयता हुदै आएको अवार्ड विर्तामोडस्थित सिटी सेन्टरमा साझ ५ बजे हुने छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाको आयोजनामा अवार्ड कार्यक्रम हुन लागेको हो । मञ्चले यसअघि नै विभिन्न चार विधाका मनोनितहरु सार्वजनिक गरिसकेको छ । प्रत्येक विधामा तीन तीनजना खेलाडी छनोट गरिएको प्रतिभा छनोट समितिका संयोजक सचित आनन्द सुब्बाले बताउनुभयो । यसबर्ष उत्कृष्ट खेलाडी पुरुषतर्फ तीनै खेलाडी फुटबलका रहेका छन् । अनन्त तामाङ, सेसेहाङ आङदेम्बे र छिरिङ गुरुङ यो विधाको मनोनयनमा परेका छन् ।
वर्ष उत्कृष्ट महिला खेलाडीतर्फ उसुकी जुनी राई, जुडोकी देविका खड्का र फेन्सीङकी कमला श्रेष्ठ मनोनयनमा परेका छन् । वर्ष उत्कृष्ट युवा खेलाडीको मनोनयनमा फुटबलका रेजिन सुब्बा, जुडोकी मनिता श्रेष्ठ प्रधान र कबड्डीकी अनुजा कुलुङ राई परेका छन । बर्षका उत्कृष्ट प्रशिक्षकको मनोनयनमा फुटबलका प्रवेश कटवाल, करातेका मदन उप्रेती र पौडीका वोङदेन लामा रहेका छन् ।
वर्ष खेलाडी (पुरुष) लाई एक थान मोटरसाइकल, वर्ष खेलाडी (महिला) लाई एक थान स्कुटर, वर्ष खेलाडी युवा र वर्ष उत्कृष्ट प्रशिक्षकलाई समान २५ हजार र ट्रफी प्रदान गरिने मञ्चका सचिव अर्जुन राजवंशीले जानकारी दिनुभयो । त्यस्तै, पिपुल्स च्वाइजअन्तर्गत एक खेलाडीलाई नगद २५ हजार र लाइफ टाइम्स अचिभमेन्ट अवार्डस्वरुप एकजनालाई नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ । मनोनयनमा परेका चार विधाका विजेता र यी दुई विधामा अवार्ड प्राप्त गर्ने खेल प्रतिभाको घोषणा कार्यक्रमस्थलमा सोझै गरिनेछ । मञ्चले यो वर्ष दुईजनालाई नगद २५ हजारसहित स्पेसल अचिभमेन्ट अवार्ड प्रदान गर्ने जनाएको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?