Logo

चेल्सी र बायर्न च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा

ई-खेलकुद २०७७ चैत्र ५ , बिहीबार ०८:०३ मा प्रकाशित

एजेन्सी । इङ्ग्लिस क्लब चेल्सी र जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा प्रबेश गरेका छन् । गएराती भएको अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई २–० ले हराउदै समग्रमा ३–० को नतिजा निकाल्दै चेल्सीले अन्तिम आठको यात्रा तय गर्यो ।

चेल्सीको घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा हाकिम जियच र इमर्सन पाल्मेरीले गोल गर्दै चेल्सीलाई जित दिलाए । ३४औँ मिनेटमा जियचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । ८१औँ मिनेटमा एट्लेटिकोका स्टेफान सेभिक रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि त्यसपछिको समय पाहुना टोली १० खेलाडीमा सिमित बन्यो । इन्ज्युरी समयमा पाल्मेरीले गोल गर्दै चेल्सीलाई सहज जित दिलाए ।
गएराति नै जर्मन क्लब बायर्न म्युनिखले इटालियन क्लब लाजियोलाई २–१ गोल अन्तरले हराउदै समग्रमा ६–२ को नतिजा हात पार्यो । घरेलु मैदानमा बायर्नलाई जिताउन रोबर्ट लेवान्डोस्की र इरिक म्याक्सिम चौपो–मोटिङले गोल गरे । लाजियोका मार्को पारोलोले एक गोल फर्काए । ३३औँ मिनेटमा बायर्नले पेनाल्टीको मौका पाएको थियो, जसमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । ७३औँ मिनेटमा चौपो–मोटिङले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । लाजियोका पारोलोले ८२औँ मिनेटमा गोल गर्दै टोलीको अन्तर घटाएका थिए । पहिलो लेगमा बायर्न ४–१ ले विजयी भएको थियो ।

यससँगै च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुग्ने आठै टोलीको टुङ्गो लागेको छ ।

 


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?