Logo

खुमलटार ए डिभिजन लिगमा बढुवा

ई-खेलकुद २०७८ चैत्र २७ , आईतबार ०५:०४ मा प्रकाशित

काठमाडौं । खुमलटार युथ क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलमा बढुवा भएको छ । बी डिभिजन लिग फुटबलमा शीर्ष २ मा पर्दै खुलमटारले ए डिभिजनको यात्रा तय गरेको हो । लिगको अन्तिम खेलमा आज सामाजिक युथ क्लबलाई २–१ गोल अन्तरले हराउँदै खुमलटारले शीर्ष डिभिजनमा स्थान बनाएको हो ।
उसलाई जिताउन सबिन केसीले एक गोल गरे । अर्को गोल उसले उपहारस्वरुप प्राप्त गरेको थियो । सामाजिकका सुरेश खत्रीले एक गोल फर्काए । खेलको १४ औं मिनेटमा सबिनले गोल गर्दै खुमलटारलाई अग्रता दिलाएका थिए । ५७ औं मिनेटमा सुरेश खत्रीले गोल गर्दै सामाजिकलाई बराबरीमा ल्याए । खेलको इन्जुरी समयमा सामाजिकका विकास लिम्बुले आत्मघाती गोल गरेपछि खुमलटार विजयी बन्दै ए डिभिजनमा बढुवा भएको हो ।
२०६१ सालमा स्थापना भएको खुमलटार पहिलो पटक शीर्ष लिगमा उक्लिएको हो । १३ खेलबाट २२ अंकसहित खुमलटार तालिकाको दोस्रो स्थानमा रह्यो । रानीपोखरी कर्नर टिम आरसीटीसँग समान अंक भएपनि हेड टु हेडका आधारमा खुमलटार अघि रह्यो । लिगको उपाधि भने चर्च ब्वाइज युनाईटेडले जितेको छ ।
खुमलटारसँग पराजित भएको सामाजिक युथ क्लबसँगै झम्सिखेल युथ क्लब रेलिगेसनमा परेका छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?