Logo

क्रोएसीयालाई हराउदै स्पेन क्वार्टरफाईनलमा

ई-खेलकुद २०७८ असार १५ , मंगलबार ०६:०६ मा प्रकाशित

एजेन्सी । क्रोएसीयालाई हराउदै स्पेन युरो कप फुटबलको क्वार्टरफाइनलमा प्रबेश गरेको छ । गएराती भएको अन्तिम १६ को खेलमा क्रोएसियालाई ५–३ गोल अन्तरले हराउदै स्पेनले अन्तिम आठको यात्रा तय गरेको हो ।
कोपेनहममा भएको खेल निर्धारित समयसम्म ३–३ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा २ गोल गर्दै स्पेनले जित हात पारेको हो ।
खेलमा क्रोएसीयाले सुरुवाती अग्रता बनाएपनि स्पेनले त्यसलाई उल्टाएको थियो । २०औँ मिनेटमा क्रोएसियाले उपहार गोलमा अग्रता बनाएको थियो । स्पेनका पेड्रीले आफ्नै पोस्टमा गोल गरेका थिए । ३८औँ मिनेटमा पाब्लो सराबियाले गोल गर्दै स्पेनलाई बराबरीमा फर्काए । ५७ औँ मिनेटमा केसार अज्पिलिकुएटाले गोल गरेपछि स्पेनले २–१ को अग्रता बनायो । ७८औँ मिनेटमा फेरान टोरेसले गोल गर्दै स्पेनलाई ३–१ को अवस्थामा पुर्याए ।
८५औँ मिनेटमा मिस्लाभ अर्सिचले र इन्ज्युरी समयमा मारियो पासालिचले गोल गर्दै क्रोएसियालाई बराबरीमा पुर्याएका थिए । निर्धारित समयको खेल बराबरीमा सकिएपछि थप गरिएको अतिरिक्त समय स्पेनका लागि महत्वपुर्ण रह्यो । अल्भारो मोरटा र मिकेल ओयार्जाबालले अतिरिक्त समयमा गोल गर्दै टोलीलाई जित दिलाए ।
मोरटाले १००औँ र आयार्जाबालले १०३ मिनेटमा गोल गरे । स्पेनले क्वार्टरफाइनलमा स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?