Logo

क्यानको साधारण सभा असोज २८ गते हुने

ई-खेलकुद २०७७ असोज ६ , मंगलबार ०७:०९ मा प्रकाशित

काठमाण्डौ । नेपाल क्रिकेट संघ क्यानले असोज २८ गते साधारण सभा गर्ने भएको छ । चितवनमा आज बसेको क्यान कार्यसमिती बैठकले असोज २८ र २९ गते साधारण सभा गर्ने निर्णय गरेको हो । अध्यक्ष चतुरबहादुर चन्दका अनुसार साधारण सभा भर्चुअल माध्यमबाट हुनेछ । कोरोना माहामारीको अवस्थालाई ध्यानमा राखी प्रबिधिको माध्यमबाट साधारण सभा गर्ने निर्णयमा कार्यसमिती पुगेको उहाँले बताउनुभयो । यद्यपी तत्कालिन अवस्थाको विश्लेषण गरि राष्ट्रिय खेलकुद परिषदसंगको समन्वयनमा थप निर्णय गर्ने क्यानले जनाएको छ । साधारणसभाका लागि क्यानले २१ दिने सुचना जारी गर्ने भएको छ ।
त्यस्तै कार्यसमिती बैठकले खेलाडीको नयाँ सम्झौताको खाका समेत तयार पारेको छ । राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक र कप्तानलाई समेत राखेर क्यानले सन् २०२० को खेलाडी सम्झौताको प्रारुप तयार पारेको हो । पुरुषतर्फ १८ र महिलातर्फ १९ खेलाडी केन्द्रिय अनुबन्धनमा रहनेछन् । त्यस्तै सम्झौतामा रहने सबै खेलाडीको जीवन बिमा पनि गर्ने निर्णय आजको बैठकले गरेको छ । यसका लागि कोषाध्यक्ष रोशन सिंहको सयोजकत्वमा तीन सदस्यिय समिती बनाएको छ । जसमा सदस्यमा दुर्गाराज पाठक र छुम्बी लामा रहेका छन । सो समितीले सात दिनभित्रमा पोलिस बनाएर प्रक्रिया अगाडी बढाउने बताइएको छ ।
यसैबिच राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकको नियुक्ति प्रक्रिया पनि केहि दिनमै सुरु गर्ने निर्णय कार्य समिती बैठकले गरेको छ । प्रशिक्षकसंगै जनरल म्यानेजर, क्रिकेट ब्यवस्थापक, फाइनान्स म्यानेजरको नियुक्ति प्रक्रिया छिटो सक्ने गरी काम अघि बढाउने निर्णय भएको अध्यक्ष चन्दले बताउनुभयो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?