Logo

कोपा अमेरिका कपमा ब्राजिलको दोस्रो जित,कोलम्बिया बराबरीमा

ई-खेलकुद २०७८ असार ४ , शुक्रबार ०८:०६ मा प्रकाशित

एजेन्सी । आयोजक ब्राजिलले ४७ औँ संस्करणको कोपा अमेरिका फुटबलमा लगातार दोस्रो जित निकालेको छ । आज बिहान भएको खेलमा पेरुलाई ४–० गोल अन्तरले हराउँदै साविक विजेता समेत रहेको ब्राजिलले प्रतियोगीताको दोस्रो जित निकालेको हो । रियो दि जेनेरियोस्थित ओलम्पिक निल्टन सान्तोस स्टेडियममा ब्राजिललाई जिताउन एलेक्स सान्द्रो, नेयमार, एभर्टन रिबेइरो र रिचार्लीसनले एक–एक गोल गरे । १२औँ मिनेटमा एलेक्स सान्द्रोले गोल गरेपछि ब्राजिलले पहिलो हाफमा १–० गोलको अग्रता बनाएको थियो । ६८औँ मिनेटमा नेयमारले टोलीको अग्रता दोब्बर पारे ।
खेल सकिन एक मिनेट बाँकी छँदा रिबेइरोले गोल गर्दै ३–० गोलको अग्रता दिलाउँदा इन्ज्युरी समयमा रिचार्लीसनले गोल गर्दै ४–० गोलको शानदार जित दिलाए । यससँगै ब्राजिलले दोस्रो जित निकाल्दै ६ अङ्क जोडेको छ । ब्राजिल समूह ‘बी’ को शीर्ष स्थानमा छ । अर्को खेलमा कोलम्बिया र भेनेज्वलाले गोलरहित बराबरी खेलेका छन् । ब्राजिलस्थित ओलम्पिको पेड्रो लुडोभिकोमा भएको खेलमा दुवै टोली गोल गर्न असफल भए । खेलको इन्ज्युरी समयमा कोलम्बिया दस खेलाडीमा सीमित बनेको थियो । कोलम्बियाका लुइस डियाजले रातो कार्ड पाएका थिए । बराबरीसँगै समूह ‘ए’को कोलम्बियाले दुई खेलमा चार अङ्क जोडेको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?