Logo

काठमाण्डौ मेयर कपमा आर्मीको पहिलो जित

ई-खेलकुद २०७७ फागुन २४ , सोमबार ०४:०३ मा प्रकाशित

काठमाण्डौ । काठमाण्डौ मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगीतामा विभागीय टोली त्रिभुवन आर्मीले पहिलो जित निकालेको छ । आफ्नो दोस्रो खेलमा आर्मीले काठमाण्डौ मेयर ११ लाई ५ विकेटले हराउदै पहिलो अंक हात पारेको हो ।
किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा काठमाण्डौले दिएको १ सय ५६ रनको सामान्य लक्ष्य आर्मीले २३ दशमलव ५ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । उसलाई सहज जित दिलाउन सोमपाल कामीले ८० रनको अर्धशतकीय इनिङ्स खेले । त्यस्तै कुशल मल्लले २३ र भिम सार्कीले १६ रन बनाए । कप्तान विनोद भण्डारी २० र राजेश पुलामी ८ रनमा अविजित रहदै टोलीलाई लक्ष्यसम्म पुर्याए । काठमाडौंका सन्दीप लामिछाने र विपिन खत्रीले समान २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले ४२ दशमलव १ ओभरमा १ सय ५५ रनमा समेटिएको थियो ।
काठमाडौंका लागि सौरभ खनालले सर्वाधिक ४२ रन बनाए । सन्दीप रजालीले ३७ र खडक बोहराले १९ रन बनाए । त्यस्तै हरिशंकर साहले १८ र कप्तान सन्दीप लामिछानेले १३ रन जोडे ।
आर्मीका शाहब आलमले ४ तथा जितेन्द्र मुखियाले ३ विकेट लिए । सोमपाल कामी, बिक्रम सोब र कुशल मल्लको नाममा समान १ विकेट रह्यो । जितसँगै आर्मीले २ खेलमा २ अंक जोडेको छ । यसअघि आर्मी उद्घाटन खेलमा एपीएफसँग १ विकेटले पराजित भएको थियो । काठमाडौंको भने यो पहिलो हार हो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?