Logo

कर्णालीलाई हराउदै एपीएफ सेमिफाईनलमा

ई-खेलकुद २०७७ माघ १० , शनिबार ०७:०१ मा प्रकाशित

काठमाण्डौ । विभागीय टोली नेपाल एपीएफ प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाईनलमा प्रबेश गरेको छ । लगातार तेस्रो जित निकाल्दै एपीएफले एक खेल अगावै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । एपीएफले तेस्रो खेलमा कर्णाली प्रदेशलाई ७१ रनले पराजित गर्यो । एपीएफको जितले अर्को विभागीय टोली त्रिभुवन आर्मीको सेमिफाईनल यात्रा निश्चित बनेको छ ।
एपीएफले दिएको २ सय १९ रनको लक्ष्य पछ्याउने क्रममा कर्णाली प्रदेश ४३ दशमलव २ ओभरमा १ सय ४७ रनमा समेटियो । हेमन्त ओलीले ५८ रन बनाएपनि अन्य ब्याट्सम्यान चल्न नसक्दा कर्णाली सामान्य स्कोरमै समेटियो । हिमान्सु शाहीले २० र कप्तान रविन्द्र शाहीले १४ रन बनाए । एपीएफका बसन्त रेग्मी र किशोर महतोले समान ३ तथा भुवन कार्कीले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफ १ बल अगावै २ सय १८ रनमा समेटिएको थियो । एपीएफको जितमा सन्दीप जोराले ६० रनको योगदान गरे । अमरसिंह राउटेलाले ३१ र सुवास खकुरेलले २३ रन बनाए । किशोर महतो २५ रनमा अविजित रहे । कर्णालीका रविन्द्र शाही र अनुज चुनाराले समान ३ तथा दिवन पुन र राज साहले समान २ विकेट लिए ।
जितसंगै एपीएफ ३ खेलमा ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान अंक भएपनि नेटरनरेटमा आर्मी पछि रहदै दोस्रो स्थानमा छ । एपीएफ र आर्मीबीचको खेलले समूह विजेता र उपविजेता तय हुनेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?