Logo

एपीएफको लगातार तेस्रो हार,मार्टिन्सको ह्याट्रिकमा सातदोबाटोको शानदार जित

ई-खेलकुद २०७८ मंसीर १७ , शुक्रबार ०७:१२ मा प्रकाशित

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा नवप्रवेशी सातदोबाटो युथ क्लबले दोस्रो जित निकालेको छ । आज भएको खेलमा विभागीय नेपाल एपीएफलाई ४–१ गोल अन्तरले हराउदै सातदोबाटो अपराजित रहँदै तालिकाको शीर्ष स्थानमा पुगेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सातदोबाटोलाई जिताउन अजयी मार्टिन्सले ह्याट्रिक गरे । अर्को गोल सुशील राईको नाममा रह्यो । एपीएफका बिकी तामाङले एक गोल फर्काए ।
खेलको ४२ औं मिनेटमा मार्टिन्सले गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा मार्टिन्सले व्यक्तिगत दोस्रो गोल गरेपछि सातदोबाटो पहिलो हाफमै २–० को अग्रता लिन सफल बन्यो । दोस्रो हाफको सुरुवातमै विभागीय टोलीले गोल गर्दै खेलमा फर्कने संकेत गरेको थियो । ४७ औं मिनेटमा आशिष लामाको पासमा बिकीले गोल गर्दै एपीएफको अन्तर घटाएका थिए । त्यसको ८ मिनेटपछि सुशिलले गोल गर्दै सातदोबाटोलाई ३–१ को अवस्थामा पुर्याए । खेलको ५८ औं मिनेटमा मार्टिन्सले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गर्दा सातदोबाटो ४–१ को बलियो अवस्थामा पुग्यो । त्यसपछिको समय दुबै टोलीले थप गोल गर्न सकेनन् । मार्टिन्स जारी लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् । उनी खेलको म्यान अफ दि म्याच चुनिए । ३ खेलबाट ७ अंक जोड्दै सातदोबाटो तालिकाको शीर्ष स्थानमा पुगेको हो । ३ खेलबाट अंकविहिन रहेको एपीएफ भने तालिकाको पुछारमा रहेको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?