Logo

एनएसएलमा आज चितवन र बुटवल तथा विराटनगर र पोखरा भिड्दै

ई-खेलकुद २०७८ वैशाख १५ , बुधबार ०६:०४ मा प्रकाशित

काठमाण्डौ । काठमाण्डौमा जारी नेपाल सुपर लिग एनएसएलमा आज २ खेल हुदैछन् । दिनको पहिलो खेलमा दिउँसो साढे २ बजे एफसी चितवन र बुटबल लुम्बिनी एफसी प्रतिस्पर्धा गर्नेछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चितवनबिरुद्ध मैदान उत्रदा बुटवल दोस्रो जितको खोजीमा रहनेछ । पहिलो खेलमा बराबरीको नतिजा निकालेको चितवन भने प्रतियोगीतामा पहिलो जितको लक्ष्यमा छ । पहिलो खेलमा बुटवलले पोखरा थण्डर्सलाई २–० ले हराएको थियो । चितवनले ललितपुर सिटी एफसीसंग एक एकको बराबरी खेलेको थियो । चितवन भरत खवास र बुटवल बिशाल श्रेष्ठको कमानीमा रहेका टोली हुन् ।
सोहि मैदानमा अपरान्ह साढे ५ बजे विराटनगर सिटी एफसी र पोखरा थण्डर्स आमने सामने हुनेछन् । पहिलो खेलमा बलियो टोली धनगढी एफसीलाई ३–० ले हराएको विराटनगर दोस्रो खेलमा पनि त्यस्तै नतिजाको खोजीमा रहेको छ । पहिलो खेलमा बुटबलसंग पराजित पोखरा दोस्रो खेलमा पहिलो अंक जोड्ने योजनामा छ ।
विराटनगर रन्जीत धिमाल र पोखरा अनिल गुरुङको कमानीमा मैदान उत्रनेछन् । यसअघि गएराती भएको खेलमा धनगढी एफसीले काठमाण्डौ रेजर्सलाई ३–० गोल अन्तरले हराएको थियो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?