
काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले भोली घरेलु मैदानमा मेरिलिबोन क्रिकेट क्लब एमसीसीसंग तीन दिवसीय खेल खेल्दैछ । १४ बर्ष पछि नेपालले फस्ट क्लास म्याच खेल्न लागेको हो । राजधानीको किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा हुने खेलले नया“ कप्तानसंगै नेपाली टोलीको असली परिक्षा गर्नेछ । यो खेलले औपचारिक रुपमै प्रथम श्रेणीको मान्यता पाउने छ । सन् २००५ मा ईन्टरकन्टिनेन्टल खेल खेले पश्चात नेपालले लामो अन्तरालमा तीन दिवसीय खेल खेल्न लागेको हो ।
नेपालले यसअघि युएईसंग २ र मलेसीया र हङकङसंग एक एक गरी ४ वटा तीनदिवसीय खेल खेलेको छ । जसमा २ खेलमा नेपालले जित हात पारेको थियो भने बाँकि २ खेल बराबरीमा सकिएका थिए ।
ज्ञानेन्द्र मल्ल राष्ट्रिय टोलीको पुर्णकालिन कप्तान नियुक्त भएपछि नेपालले खेल्न लागेको दोस्रो अन्तराष्ट्रिय खेल समेत भएकाले टोलीमा अवसरसंगै दबावपनि उत्तिकै रहेको छ । एमसीसीबिरुद्ध मैदान उत्रदा अधिकांश नेपाली खेलाडीको तीन दिवसीय खेलमा डेब्यु हुनेछ । अनुभवका हिसाबमा एमसीसीको टोली निक्कै बलियो रहेपनि घरेलु मैदान र यसअघिको वन डे क्रिकेटमा निकालेको जितले टोलीमा उर्जा निक्कै थपिएको छ । यस्तोमा फरक फर्मेटमा खेलाडीले आफुलाई ढाल्न केहि मेहनत भने उत्तिकै आवश्यक रहनेछ । वर्तमान टोलीका शरद भेषावकर र सोमपाल कामी(श्रीलंकामा) बाहेक सबै खेलाडी पहिलो पटक तीन दिवसीय क्रिकेट खेल्दैछन् ।
कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरीसंगै आरिफ शेख, बसन्त रेग्मी, बिनोद भण्डारी,करण केसी ललितनारायण राजवंशी, रोहित पौडेल, सन्दिप लामिछाने, जितेन्द्र मुखिया, पवन सर्राफ र राजु रिजालले सेतो ड्रेसमा डेब्यु गर्नेछन् ।
ब्याटिङ अवस्थामा सुधार हुन नसकिरहेका बेला नेपाललाई एकदिवसीय क्रिकेटमा पनि पुरा ओभर टिक्न संर्घष गर्नुपरेका बेला हुन लागेको तीन दिवसीय खेलले ब्षट्सम्यानको असली मापन पनि हुनेछ । यसमा हरेक खेलाडीलाई प्रमाणीत गर्ने अवसर पनि रहेको छ । बलिङमा सन्तुलीत प्रर्दशन गर्दै आएको नेपालले भोलीबाट सुरु हुने खेलमा ब्याटिङ र फिल्डिङमा बिशेष ध्यान दिदै मैदान उत्रनुको विकल्प पनि छैन् ।
