
काठमाडौं । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले सिनियर खेलाडीलाई जसरी भएपनि किनारा लगाउने रणनीति अघि सारेका छन् । आफुविरुद्व बिद्रोह गरेका खेलाडीलाई पाखा लगाएर नयाँ खेलाडीलाई अघि सार्ने उनको योजना छ । जसलाई अखिल नेपाल फुटबल संघ एन्फाले पनि साथ दिएको छ । रोहित चन्दसहितका सिनियर खेलाडीले बन्द प्रशिक्षणकै क्रममा बिद्रोह गरेपछि प्रशिक्षक अलमुताइरीले प्लान बी लाई तत्काल कार्यान्वयनमा ल्याएका हुन् । आफुविरुद्व मोर्चाबन्दी गरेका खेलाडीलाई बिदा दिने रणनीति अपनाउँदै उनले १७ नयाँ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएका छन् । आज बोलाएका खेलाडीसहित बन्द प्रशिक्षणमा रहने खेलाडीको संख्या ३२ पुगेको छ ।
यसअघि २५ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएकामा १० जना खेलाडी बाहिरिएका थिए । कप्तान किरण चेम्जोङ माल्दिभ्समा छन् भने देवेन्द्र तामाङ घरायसी कामका कारण प्रशिक्षण बाहिर छन् । कप्तान चेम्जोङपनि प्रशिक्षककोविरुद्वमा रहेकाले अलमुताईरी उनलाई टोलीमा राख्ने पक्षमा छैनन् । त्यसैको संकेतका रुपमा प्रशिक्षक अब्दुल्लाहले अनुभवी गोलकिपर विकेश कुथुलाई टोलीमा बोलाएका छन् ।
आज बोलाएका १७ मध्ये १५ जनाले प्रशिक्षणमा सहभागीता जनाएका छन् । विकेश र आशिष चौधरी भने आजको प्रशिक्षणमा आइ नसकेको टोलीका व्यवस्थापक मधुसुधन उपाध्ययले बताए । अलमुताईरीले आज बोलाएका खेलाडीमध्ये आधा विभागीय टोलीका खेलाडी हुन भने बाँकी ए,बी र सी डिभिजनका खेलाडी हुन् ।
आर्मीका जर्ज प्रिन्स कार्की, विकेश कुथु, सेसेहाङ राई र विकाश तामाङ तथा नेपाल पुलिस क्लबका निरकुमार राई र एपीएफका राजन गुरुङमा अलमुताईरीको नजर परेको हो । बिग्रेड ब्वाइजका रोशन राना मगर, ,भगवतीका सुनिल श्रेष्ठ र चर्च ब्वाइजका आशिष चौधरीलाई पनि बन्द शिविरमा बोलाइएको छ । यी बाहेक
सातदोबाटो युथका सुशिल राई र आकाश बुढामगर, जावलाखेलका रुपबहादुर लामा र अभिषेश बराल, मनाङ मर्स्याङ्दीका विशाल सुनार, थ्रिस्टारका सन्जोग राई र एनआरटीका शिव गुरुङलाई पनि बन्द प्रशिक्षणमा बोलाइएको छ । सी डिभिजन क्लब पुल्चोक स्पोर्टसका मनिष जर्गा मगरलाई पनि टिममा समावेश गरिएको हो।
खेलाडीहरुले बिद्रोह गरेपनि त्यसलाई सुल्झाउन एन्फाले खासै चासो नदेखाएपछि प्रशिक्षक अलमुताइरी आफ्नो योजना अनुरुप अघि बढेका हुन् ।
