Logo

सिकले गरेको गोल युरोकपको सर्बोत्कृष्ट

ई-खेलकुद २०७८ असार ३१ , बिहीबार ०७:०७ मा प्रकाशित

एजेन्सी । चेक रिपब्लिकका फरवार्ड प्याट्रिक सिकले गरेको गोल युरो कप २०२० को सर्वोत्कृष्ट बनेको छ । युरोपियन फुटबल महासङ्घ (युइएफए) ले भोटिङमार्फत सिकको स्कटल्यान्डविरुद्धको गोल सर्वोत्कृष्ट बनेको जनाएको हो । समूह चरणअन्तर्गत स्कटल्यान्डविरुद्ध उनले गरेको पहिलो गोल नै युरोकपको उत्कृट बनेको हो ।
सिकले ५० मिटर टाढाबाट गोल गरेका थिए । जुन गोलमा आठ लाख भोट आएको युइएफएले जनाएको छ । उनले पाँच गोल गर्दै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोलाई गोल्डेन बुट अवार्डमा टक्कर दिएका थिए । तर असिस्टमा पछाडि रहेका उनी गोल्डेन बुट जित्नबाट चुके । उनले बेस्ट गोलमा भने आफ्ना आइडल रोनाल्डोलाई उछिनेका छन् ।
यस्तै, बेस्ट गोलतर्फ फ्रान्सका खेलाडी पउल पोग्बाको गोल दोस्रो बनेको छ । उनले स्विट्जरल्यान्डविरुद्धको खेलमा गरेको गोल दोस्रो हुँदा क्रोएसियाका कप्तान लुका मोड्रिकले स्कटल्यान्डविरुद्ध गरेको गोल तेस्रो बनेको छ । इटालीका लोरेन्जो इसिग्नेले बेल्जियमविरुद्ध गरेको गोलले चौथो स्थान बनाउँदा बेल्जियमका केभिन डी ब्रुयनले डेनमार्कसँगको खेलमा गरेको गोल पाँचौँ बन्यो । छैटौँ स्थानमा रोनाल्डोले हङ्गेरीविरुद्ध गरेको गोल परेको छ भने अल्भारो मोरटाले इटालीसँगको खेलमा गरेको गोल सातौँ बन्यो । आठौँमा मिकेल ड्रम्स्गार्ड, नवौमा एन्ड्री यारमोलेन्को र दसौँमा फेडेरिको चिसाको गोल परेको छ ।

 


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?