
काठमाण्डौ । दुई नयाँ अनुहार समेट्दै सिंगापुरमा हुने त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । सिंगापुरमा सेप्टेम्बर २७ बाट सुरु हुने प्रतियोगिताका लागि पारस खड्काको कमानीमा नेपाली टोली घोषणा गरिएको हो । उपकप्तानको जिम्मा दिपेन्द्रसिंह ऐरीले पाएका छन् । बन्द प्रशिक्षणमा रहेका खेलाडी मध्येबाट १५ सदस्सीय टोलीको घोषणा भएको हो । टोलीका प्रशिक्षक उमेश पटवाल, कप्तान पारस खड्का र आईसीसीका प्रतिनिधि अमिनुल ईस्लामको खेलाडी छनोट समितिले टोलीको घोषणा गरेको हो ।
टोलीमा ईशान पाण्डे र कुशल मल्लले पहिलो पटक स्थान बनाएका छन् । टोलीका अन्य सदस्यहरुमा पारस खड्का, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, बिनोद भण्डारी, ललितनारायण राजवंशी, पवन सर्राफ, सन्दिप लामिछाने, अबिनाश बोहोरा र आरिफ शेख रहेका छन् । टोलीका अन्य सदस्यहरुमा सुशन भारी, सन्दिप जोरा र रोहित कुमार पौडेल रहेका छन् ।

ब्यक्तिगत कारणका ज्ञानेन्द्र मल्लले सिरिज नखेल्ने भएका हुन् । अनुभवी खेलाडीद्धय शरद भेषावकर र बसन्त रेग्मीलाई पनि आराम दिईएको छ ।
नेपाल, सिंगापुर र जिम्बावेबिचको सिरिजका लागि नेपालले टोलीको घोषणा गरेको हो । नेपालले सेप्टेम्बर २७ मा जिम्बावेसंग खेल्दै सिरिजको सुरुवात गर्नेछ । त्यसको भोलीपल्ट नेपालको भेट आयोजक सिंगापुरसंग हुनेछ । डबल राउण्ड रोबिन लिगका आधारमा चल्ने प्रतियोगिताको दोस्रो खेलमा नेपालले अक्टोबर १ मा जिम्बावे र २ मा सिंगापुरको सामना गर्नेछ । प्रतियोगिताको शीर्ष स्थानमा रहने २ टोलीबिच उपाधि भिडन्त हुन्छ । प्रतियोगिता खेल्न नेपाली टोली आगामी बुधबार सिंगापुर जानेछ ।
सो सिरिजपछि नेपाली टोली ओमानमा हुने ५ राष्ट्र सहभागी टी–२० सिरिज खेल्न त्यसतर्फ जानेछ ।