Logo

साविक विजेता मछिन्द्रको विजयी सुरुवात

ई-खेलकुद २०७८ मंसीर ६ , सोमबार ०७:११ मा प्रकाशित

काठमाडौं । साविक विजेता मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ । पहिलो चरणको अन्तिम खेलमा न्युरोड टिम एनआरटीलाई २–१ गोल अन्तरले हराउदै मछिन्द्रले लिगमा सुखद सुरुवात गरेको हो । मछिन्द्रलाई जिताउन दुबै गोल सुनिल बलले गरे । एनआरटीका एरिक बिष्टले एक गोल फर्काए । खेलको १२ औ मिनेटमा बलले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको एनआरटी दोस्रो हाफको सुरुवातमै खेलमा फर्किएको थियो । ५४ औ मिनेटमा बिष्टले गोल गर्दै एनआरटीलाई बराबरीमा ल्याएका थिए । उनले फ्रिकिकबाट गोल गर्दै टोलीलाई एक एक गोलको अवस्थामा पुर्याए । ६२ औं मिनेटमा मछिन्द्रका सुनिलले गोल गरेपनि रेफ्रिले अफसाइड दिएका थिए ।
प्रतिस्पर्धात्मक खेलमा सुनिलले ८० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई २–१ को अवस्थामा पुर्याए । त्यसपछिको समयमा दुबै टोलीले थप गोल गर्न नसक्दा सोहि नतिजा निर्णायक बन्यो । जितसँगै मछिन्द्रले ३ अंकसहित लिगको सुरुवात गरेको छ । खेलमा विजेता टोलीका गोलकर्ता सुनिल म्यान अफ दि म्याच चुनिए ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?