
काठमाण्डौ । घरेलु मैदानमा आयोजित १३ औ दक्षिण एसियाली खेलकुद सागका पदक विजेता खेलाडीलाई सरकारले आज पुरस्कारको घोषणा गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले अपरान्ह एक कार्यक्रमकाबिच विजेता खेलाडी र प्रशिक्षकलाई पुरस्कारको घोषणा गर्नुहुने राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्यसचिव रमेश सिलवालले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले विजेता खेलाडीलाई दिउसो सवा २ बजे बालुवाटारमै बोलाउनुभएको छ । विजेता खेलाडीसंग अन्तक्रियापछि सोहि अवसरमा प्रधानमन्त्री ओलीले पुरस्कार घोषणा गर्नुहुने सदस्यसचिव सिलवालले बताउनुभयो । नेपालले सागमा ५१ स्वर्ण ६० रजत र ९५ कास्य हात पारेको थियो ।
यो पटकका विजेतालाई अघिल्लो सागको भन्दा उल्लेख्य रकमले सम्मान गर्ने गरी सरकारले तयारी थालेको छ । अघिल्लो सागका स्वर्ण विजेताले ५ लाख पाएका थिए । सिलवालले भन्नुभयो– यसपटकका विजेताले आकर्षक प्रोत्साहान रकम प्राप्त गर्नेछन् । प्रधानमन्त्री ज्युले हामीसंगै सल्लाह गरेर पुरस्कारको रकम घोषणा गर्न लाग्नुभएको हो । अहिले सार्बजनिक गर्न मिल्दैन् ।
स्वास्थ्यउपचार पछि सरकारी निवास वालुवाटारमै आराम गरिरहनुभएका ओलीले समापनका अवसरमा हिजो भिडियो सन्देशबाट समारोहलाई सम्बोधन गर्नुभएको थियो ।
