
एजेन्सी । साउथ अफ्रिकाबिरुद्धको दोस्रो टी–२० क्रिकेटमा घरेलु टोली ईण्डियाले सहज जित हात पारेको छ । गएराती भएको खेलमा भ्रमणकारी टोलीलाई ७ विकेटले हराउदै ईण्डियाले ३ म्याचको सिरिजमा १–० को अग्रता बनाएको हो । पहिलो खेल बर्षाले स्थगीत भएको थियो । साउथ अफ्रिकाले दिएको १ सय ५० रनको चुनौती ईण्डियाले ६ बल अगावै ३ विकेट गुमाएर भेट्टायो । कप्तान बिराट कोहलीले नटआउट ७२ र शिखर धवनले ४० रन बनाउदै टोलीको जित निश्चित पारे । श्रेयस ऐर १६ रनमा अबिजित रहे ।
साउथ अफ्रिकाका एण्डिले पेल्लुख्वाओ, तावरिज साम्सी र बोर्जोन फोरट्युनले समान एक विकेट लिए ।
यसअघि मोहालीमा पहिले ब्याटिङमा उत्रिएको साउथ अफ्रिकाले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ४९ रनको मध्यम योगफल तयार पारेको थियो । क्विन्टन डि ककले ५२ र टेम्बा बाभुमाले ४९ रन बनाएको ईनिङसमा डेभिड मिलरले १८ रन जोडे । ईण्डियाका दिपक चहारले २ तथा रबिन्द्र जडेजा, हार्दिक पाण्डेया र नभदिप सैनीले समान एक विकेट हात पारे ।
२ राष्ट्रबिचको तेस्रो तथा अन्तिम टी–२० क्रिकेट आईतबार बैङलोरमा हुनेछ ।
