Logo

सबै नेपाली समर्थकलाई खुसी राख्छु: मुख्य प्रशिक्षक अब्दुल्लाह

ई-खेलकुद २०७७ चैत्र २२ , आईतबार ०५:०४ मा प्रकाशित

काठमाण्डौ । नेपाली राष्ट्रिय फुटबल टोलीका नबनियुक्त मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सबै नेपाली समर्थकलाई खुसी राख्नेमा आफू आशावादी रहेको बताएका छन् । नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएपछि सञ्चारकर्मीसंग कुराकानी गर्दै कुवेती प्रशिक्षक अब्दुल्लाहले आफ्नो मुख्य ध्यान नेपालको स्तर बढाउने रहेको बताएका हुन् । अखिल नेपाल फुटबल सङ्घ एन्फाले आज एएफसी कोचिङ इन्स्ट्रक्टरसमेत रहेका अब्दुल्लाहलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । उनलाई टेक्निकल कमिटीको सिफारिसअनुसार एक वर्षको लागि मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

उनले मुख्य प्रशिक्षक बालगोपाल महर्जनको स्थान लिएका छन् । महर्जनले नेपाललाई थ्री नेसन्स कपको उपाधि दिलाए पनि फिफा विश्वकप छनोटका लागि प्रो–लाइसेन्सप्राप्त प्रशिक्षक चाहिने भएपछि एन्फाले अब्दुल्लाहलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।
जिम्मेबारी सम्हालेसंगै उनले भने– ‘म नेपालमा काम गर्न पाउँदा खुसी छु, जहाँका मानिसहरू दयालु छन्’, ‘हाम्रा खेलहरूलाई लिएर मैले यो काम गर्नु एउटा चुनौती हो । मलाई आशा छ कि म सबै नेपाली समर्थकलाई खुसी बनाउन सक्छु ।’

अब्दुल्लाहले मुख्य कोचमा नियुक्त हुनुअगाडि नै सबै नेपाली खेलाडीबारे अध्ययन गरिसकेको उल्लेख गरे । ‘नेपाली टोलीले थ्री नेसन्स खेलेको मैले हेरेको थिएँ । हामीसँग राम्रो टोली छ र आशा गर्छु कि त्रिदेशीय कपको उपाधि जितेजस्तै अरूबेला पनि खुसी मनाउन सक्छौँ ।’

अब उनले आगामी जुन महिनामा हुने विश्वकप छनोटका तीन खेल र यही सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिपमा नेपाली टिम सम्हाल्नेछन् ।

अब्दुल्लाह मुख्य प्रशिक्षक

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?