
काठमाण्डौ । श्रीलंकामा बिहिबारबाट सुरु हुने अण्डर १९ एसियाकप क्रिकेट प्रतियोगिताको लागि नेपाली युवा टोलीले अन्तिम चरणको अभ्यासपनि पुरा गरेको छ । प्रतियोगिता आउन २ साता अघि नै श्रीलंका पुगेको नेपाली टोलीले ३ वटा स्थानिय टोलीसंगको अभ्यास खेलसंगै हिजो र आज नेट अभ्यास गरेको थियो । भोली आराम गरेर नेपाली टोली पर्सी ट्रफि सार्बजनिक लगायतका अन्य कार्यक्रममा सहभागी हुनेछ । सोहि दिन प्रतियोगितास्थलमा नेपालले सामान्य अभ्यास पनि गर्ने तयारी छ ।

८ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा नेपालले शुक्रबार आयोजक श्रीलंकासंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यसैबिच टोलीका कप्तान रोहित पौडेलले पहिलो खेलबाटै उत्कृष्ट खेल खेल्ने बताएका छन् । ईखेलकुदसंग कुराकानी गर्दै कप्तान पौडेलले प्रतियोगितामा नेपाल पनि सक्षम टोलीको रुपमा रहेको दाबी गरे ।
प्रतियोगितामा नेपालभन्दा बलिया टोली रहेपनि अनेपेक्षित नतिजा निकाल्न नेपाली टोली सफल हुनेमा निक्कै आशाबादी रहेको बताए । उमेर समुहका प्रतियोगितामा ठुला राष्ट्रलाई पनि हराएको ईतिहास स्मरण गर्दै पौडेलले सम्पुर्ण टोलीको ईफोर्टले त्यसलाई साकार पार्ने उल्लेख गरे ।
श्रीलंकामा आन्तरिक तयारी पनि राम्रो भएकाले सकारात्मक नतिजा आउनेमा बिश्वस्त रहेको उनको भनाई छ । नेपालले कम्तीमा समुहचरण पार गर्दै सेमिफाइनल पुग्ने लक्ष्य राखेको बताउदै पौडेलले पहिलो खेलबाटै लक्ष्यलाई सहज बनाउने दाबी गरे ।