
पोखरा । पारस खड्का कमानीको चितवन राईनोज पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलको प्लेअफमा प्रबेश गरेको छ । लगातार तेस्रो जित निकाल्ने क्रममा आज धनगढी ब्लुजलाई ५२ रनले हराउदै चितवनले २ खेल अगावै अघिल्लोचरणको यात्रा तय गरेको हो ।
पोखरा रंगशालामा १ सय ८२ रनको विशाल चुनौती पछ्याएको धनगढीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय २९ रन मात्र बनाएपछि चितवन फराकिलो जित निकाल्न सफल बन्यो । कप्तान दिपेन्द्रसिंह ऐरीले ४९,सन्दिप जोराले २१ र अमित यादवले १७ रन बनाएको ईनिङसमा रोड्रिगो थोमसले १४ रन बनाए । अन्यले उल्लेख्य ब्याटिङ गर्न सकेनन् ।
चितवनका भुवन कार्कीले ३, करण केसी र सन्नी पटेलले समान २ विकेट लिए । धनगढीका एक ब्याट्सम्यान रनआउट भएका थिए ।
यसअघि टस जितेर पहिले ब्याटिङमा उत्रिएको चितवनले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रनको उच्च योगफल तयार पारेको थियो । चितवनका लागि आरिफ शेखले सर्बाधिक ४७ रनको योगदान गरे । अबिजित रहेर ईनिङस टुङग्याउने क्रममा उनले २० बलमा ४ छक्का र २ चौका प्रहार गरे । सन्नी पटेल ३२ रनमा नटआउट रहे । बाबर हायातले ३६ र कप्तान पारस खड्काले २३ रन जोडे ।
धनगढीका दिपेन्द्रसिंह ऐरी र अनिल खरेलले समान २ तथा अमित यादवले १ विकेट लिए । जारी प्रतियोगितामा दोस्रो हार भोगेको धनगढीलाई अघिल्लो चरण प्रबेशका लागि बाँकि दुबै खेलमा जित निकाल्न आवश्यक छ ।
