
साउन ३०, एजेन्सी ।
वेष्ट ईण्डिजबिरुद्धको वन डे सिरिज पनि ईण्डियाले जितेको छ । तेस्रो तथा निर्णायक खेलमा गएराती ६ विकेटको जित निकाल्दै ईण्डियाले ३ म्याचको सिरिज २–० ले आफ्नो पक्षमा पारेको हो । क्यारेबियन टोलीले दिएको २ सय ५५ रनको चुनौती ईण्डियाले १५ बल अगावै ४ विकेट गुमाएर भेट्टायो ।

उसको जितमा कप्तान बिराट कोहलीले अबिजित १ सय १४ र श्रेयस ऐरले ६५ रनको योगदान गरे । शिखर धवनले ३६ र केदार जादवले नटआउट १९ रन बनाए ।
वेष्ट ईण्डिजका फावियन एलनले २ तथा केमार राओचले एक विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यारेबियन टोलीले ३५ ओभरमा ७ विकेट गुमाएर २ सय ४० रन बनाएको थियो । बर्षाले खेल प्रभाबित भएपछि ईण्डियाले डकबर्थ लेबिस पद्धतीमा २ सय ५५ रनको लक्ष्य पाएको थियो । क्यारेबियन ईनिङसमा क्रिस गेलले ७२, ईभिन लिविसले ४३ तथा निकोलस पुरनले ३० रन बनाए ।
ईण्डियाका खलिल अहमदले ३ तथा महम्मद सामीले २ विकेट लिए । वेष्ट ईण्डिज भ्रमणका क्रममा २ राष्ट्रबिच २ म्याचको टेष्ट सिरिज पनि हुनेछ ।