
काठमाण्डौ । राजधानीमा जारी वुमन च्याम्पियन्स लिग क्रिकेट डब्लुसीएलको उपाधिका लागि चितवन राईनोज र क्याट क्विन्स काठमाण्डौबिच प्रतिस्पर्धा हुदैछ । प्रतियोगिताको उद्घाटनखेलमा भिडेका यी २ टोली उपाधिका लागि पनि प्रतिस्र्धा गर्न लागेका हुन् ।
उपाधि भिडन्त कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान साढे ११ बजे सुरु हुनेछ । रुबिना क्षेत्री कमानीको काठमाण्डौले एलिमिनेटर खेलमा विराटनगर टाईटन्सलाई हराउदै फाइनलमा स्थान सुरक्षित गरेको हो । ईन्दु बर्मा नेतृत्वको चितवन भने शत प्रतिशत नतिजा निकाल्दै तालिकाको शीर्ष स्थानमा रहेर सिधै उपाधिका लागि छनोट भएको थियो ।
चितवन आफ्नो अपराजित यात्रालाई जारी राख्दै उपाधि हात पार्ने योजनामा रहदा, काठमाण्डौलाई भने पहिलो खेलमा भोगेको हारको बदला लिदै उपाधि हत्याउन अवसर मिलेको छ ।
क्विन्स ईभेन्ट म्यानेजमेन्टले आयोजना गरेको प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले टीभीएसको स्कुटर र ५० हजार पाउनेछ । विधागततर्फका उत्कृष्टले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
