
काठमाण्डौ । विश्वकप छनोट अन्तर्गत आफ्नो अन्तिम अवे खेलमा नेपाल जोर्डनसंग ३–० ले पराजित भएको छ । जोर्डनको अम्मानस्थित अन्तराष्ट्रिय स्टेडियममा गएराती भएको खेलमा जोर्डनबिरुद्ध उत्कृष्ट खेल खेलेपनि नेपाल अंक खोस्न असफल बन्यो । पहिलो हाफमा जोर्डनलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा लय गुमाएको थियो । ५६ औ मिनेटमा फेरास शेल्बाईहले पेनाल्टिमार्फत गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । डिफेण्डर दिनेश राजवंशीले जोर्डनका खेलाडीमाथी फउल गरेपछि पाएको पेनाल्टिलाई उनले जाली चुमाएका थिए ।
दोस्रो हाफमा अग्रता बनाएको जोर्डनले अन्तिम १२ मिनेटमा २ गोल थप्दै सहज जित हात पारेको थियो । ७८ औ मिनेटमा अहमद अल ईरसन र ८८ औ मिनेटमा बाहा फैसलले गोल गर्दै टोलीको जित निश्चत पारे । यो जितसंगै जोर्डन तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । ३ खेलबाट ७ अंक सहित जोर्डनले कुवेतलाई पछि पारेको हो ।
गएरातीनै अष्ट्रेलियाले चाईनिज ताईपेईबिरुद्ध ७–१ को जित निकाल्यो । जितको श्रृखलालाई तेस्रो खेलमा पनि निरन्तरता दिने क्रममा अष्ट्रेलियाले फराकिलो जित हात पारेको हो ।
