
चितवन । विभागीय टोली त्रिभुवन आर्मी चितवनमा जारी जेसिज विकास रनिङ शिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ । विभागीय डर्बीको खेलमा साविक विजेता एपीएफलाई १–० ले हराउदै आर्मीले अन्तिम चारको यात्रा तय गरेको हो ।
नारायणगढस्थित क्याम्पा चौर मैदानमा पहिलो हाफ गोलरहिब बराबरीमा सकिएको खेलमा आर्मीले दोस्रो हाफको सुरु मै गोल गरेको थियो । ४७ औ मिनेटमा आर्मीका कप्तान भरत खवासलाई डिबक्स नजिकै फउल गरेपछि पाएको फ्रिकिकको अवसरलाई सन्तोष तामाङले सिधै जाली चुमाएका थिए । निक्कै रोमाञ्चक खेलमा दुबै टोलीले पाएका अवसरको सदुपयोग गर्न नसक्दा सोहि नतिजा निर्णायक बनेको थियो । खेलमा आर्मीका बिमल पाण्डे म्यान अफ दि म्याच घोषित भए । उनले १० हजार नगद प्राप्त गरे ।
प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा भोली संकटा क्लब र जावलाखेल युथ क्लबबिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको उपाधि विजेताले ६ लाख ६ हजार ६ सय ६६ र उपविजेताले ३ लाख ३ हजार ३ सय ३ रुपैया हात पार्नेछन् ।
