
चितवन । चितवनमा जारी जेसिज विकास रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधिका लागि विभागीय नेपाल पुलिस र घरेलु टोली चितवन ११ भिड्ने भएका छन् । आज भएको दोस्रो सेमिफाइनलमा संकटा क्लबलाई १–० ले हराउदै पुलिसले घरेलु टोलीसंगको उपाधि भेट पक्का गरेको हो ।
नारायणगढस्थित क्याम्पा चौर मैदानमा पुलिसलाई जिताउन सौजन याख्खाले खेलको ६७ औ मिनेटमा गरेको गोल निर्णायक बन्यो । ८० मिनेटको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको २७ औ मिनेटमा याख्खाले बललाई जाली चुमाउदै पुलिसको उपाधि यात्रा तय गरेका थिए । उनी म्यान अफ दि म्याच घोषित भए । उनले १० हजार रुपैया हात पारे ।
पुलिसले प्रतियोगिताको उपाधिका लागि शनिबार घरेलु टोली चितवन ११ संग प्रतिस्पर्धा गर्दैछ । यसअघि हिजो भएको पहिलो सेमिफाइनलमा चितवनले त्रिभुवन आर्मीलाई हराउदै फाईनल यात्रा तय गरेको थियो । प्रतियोगिताको विजेताले ६ लाख ६ हजार र उपविजेताले ३ लाख ३ हजार रुपैयामा हात पार्नेछन् ।
