Logo

लिभरपुल शीर्ष चारमा, टटनह्याम पराजित

ई-खेलकुद २०७८ जेठ ६ , बिहीबार ०९:०५ मा प्रकाशित

एजेन्सी । लिभरपुल इङ्ग्लिस प्रिमियर लिगको शीर्ष चारमा उक्लिएको छ । ३७ औ चरणको खेलमा गएराती बर्न्लीलाई उसैको मैदानमा ३–० गोलले हराउँदै लिभरपुल शीर्ष चारमा उक्लिएको हो । लिभरपुलको जितमा रोबर्टो फिर्मिनो, नाथानेल फिलिप्स र एलेक्स ओक्लाडे–चाम्बरलेनले समान एक–एक गोल गरे । ४३औँ मिनेटमा फिर्मिनोले गोल गर्दै पहिलो हाफभरि लिभरपुललाई अग्रता दिलाएका थिए । ५२ औँ मिनेटमा फिलिप्सले टोलीको अग्रता दोब्बर पारे । ८८ औ मिनेटमा च्याम्बरलेनले गोल गर्दै लिभरपुललाई ३–० गोलको सहज जित दिलाए । जितसँगै लिभरपुलले ३७ खेलमा ६६ अङ्क जोड्दै चौथो स्थान पक्का गरेको हो । बर्न्ली भने ३९ अङ्कसहित १७औँ स्थानमा छ ।
गएराती नै टटनह्याम एष्टन भिल्लासँग २–१ ले पराजित भयो । घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा टटनह्याम हार भोग्न बाध्य भयो । आठौँ मिनेटमा स्टेभन बर्जविज्नले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । २०औँ मिनेटमा उपहार गोलमा खेलमा फर्किएको एष्टनले ३९ औ मिनेटमा अर्को गोल थपेको थियो । ओली वाटकिन्सले एष्टनका लागि विजयी गोल गरे । जितसँगै ११औँ स्थानको भिल्लाले ३७ खेलमा ५२ अङ्क जोडेको छ । टटनह्याम ५९ अङ्कका साथ सातौँ स्थानमा छ ।
अर्को खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३–१ गोलले हराएको छ । प्यालेसको मैदानमा आर्सनललाई जिताउन निकोलास पेपेले दुई तथा ग्राबियल मार्टिनेलीले एक गोल गरे । प्यालेसका क्रिस्टियन बेन्टेकले एक गोल फर्काए । जितसँगै ३७ खेलमा ५८ अङ्क जोड्दै आर्सनल नवौँ स्थानमा उक्लिएको छ ।

 


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?