
काठमाण्डौ । चितवन राईनोज राजधानीमा जारी वुमन च्याम्पियन्स लिग क्रिकेट डब्लुसीएलको प्लेअफमा प्रबेश गरेको छ । लगातार तेस्रो जित निकाल्ने क्रममा आज पोखरा पल्टनलाई ७ विकेटले हराउदै चितवनले एक खेल अगावै प्ले अफमा स्थान सुरक्षित गरेको हो । पोखराले दिएको १ सय २८ रनको चुनौती चितवनले १२ बल अगावै ३ विकेट गुमाएर भेट्टायो ।
उसको जितमा काजोल श्रेष्ठले ५१ र कञ्चन श्रेष्ठले २९ रनको योगदान गरे । कप्तान ईन्दु बर्माले २४ रन बनाईन् । पोखराकी अञ्जली चन्दले २ र सुस्मा श्रेष्ठले एक विकेट लिईन् ।
यसअघि पहिले ब्याटिङ गरेको पोखराले कप्तान सिता राना मगरको ६५ रन मद्दतमा ५ विकेट गुमाएर १ सय २७ रनको मध्यम योगफल तयार पारेको थियो । सीताले ५६ बलमा १ छक्का र ७ चौकाको मद्धतमा ६५ रन बनाउदा १६ बल खेलेकी मन्जु बोगटीले २ छक्का र २ चौकाको मद्दतमा नटआउट २४ रन जोडिन् । कविता कुँवरले १५ रन बनाईन् । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
चितवनका कविता गौतमले २ तथा रेखा रावलले १ विकेट लिईन् । आजै काठमाण्डौ र बिराटनगरबिच पनि प्रतिस्पर्धा हुनेछ ।
