
एजेन्सी । भारतले किर्तिमानी सातौ पटक अण्डर १९ एसियाकप क्रिकेटको उपाधि जितेको छ । आज भएको फाइनलमा बंगलादेशलाई ५ रनले हराउदै भारतले उपाधि हात पारेको हो । १ सय ६ रनको सामान्य योगफल समेत जोगाउदै भारतले रोमाञ्चक जित हात पारेको हो ।
कोलम्बोमा १ सय ७ रनको लक्ष्य पछ्याएको बंगलादेश ३३ ओभरमा १ सय १ रनमा अलआउट भएपछि उपाधि भारतको पोल्टामा गएको हो । कप्तान अकबर अलीले २३ रन बनाएको बंगलादेशको ईनिङसमा मृतुनजोय चौधरीले २१ र तान्जिम हसन सकिबले १२ रन बनाए । अन्यले उल्लेख्य ब्याटिङ गर्न सकेनन् ।
भारतका अथर्भा अन्कोलेकारले ५ तथा आकाश सिंहले ३ विकेट चट्काएपछि बंगलादेश झिनो स्कोरमा समेटिएको थियो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारत ३२ दशमलब ४ ओभरमा १ सय ६ रनमा समेटिएपछि बंगलादेशले झिनो लक्ष्य पाएको थियो ।
