
एजेन्सी । रसिया र पोल्याण्ड सन् २०२० मा हुने युरोकप फुटबलका लागि छनोट भएका छन् । साईप्रसलाई ५–० को फराकिलो अन्तरले हराउदै रसिया २ खेल अगावै युरोकपमा छनोट भएको हो । ८ खेलबाट २१ अंक जोडेको रसिया ग्रुप आईको उपबिजेता बन्दै युरोकपमा छनोट भएको हो । पहिलो हाफमै १० खेलाडीमा समेटिएको साईप्रसबिरुद्ध नवौ मिनेटमा रसियाले अग्रता लिएको थियो । डेनिस चेरिसेभले रसियाको खाता खोलेका थिए । २२ औ मिनेटमा मागोमेड ओजडोयेभले अग्रता दोब्बर पारेका थिए । दोस्रो हाफमा आर्तेम डेयुवा, अलेक्जेण्डर गोलोभीन र चेरिसेभले गोल गर्दै टोलीलाई फराकिलो जित दिलाए । सोहि समुहको खेलमा बेल्जियमले काजाकिस्तानलाई २–० ले तथा स्कटल्याण्डले सान मारिनोलाई ६–० ले स्तब्ध पारे । बेल्जियम यसअघि नै युरोकपका लागि छनोट भईसकेको छ ।
ग्रुप जीको खेलमा नर्दन म्यासेडोनियालाई २–० ले हराएको पोल्याण्डले पनि युरोकपको टिकट काटेको हो । ८ खेलबाट १९ अंकसहित पोल्याण्डले युरोकपमा स्थान सुरक्षित गरेको हो । स्लोभानियालाई १–० ले हराएको अष्ट्रियापनि युरोकप छनोट नजिक पुगेको छ ।
अन्य खेलहरुमा जर्मनीले ईस्टोनियालाई ३–० ले, नेदरल्याण्ड्सले बेलारुसलाई २–१ ले तथा हंगेरीले अजरबैजानलाई १–० ले स्तब्ध पारे । वेल्स र क्रोएसियाले एक एकको बराबरी खेल्दै अंक बाँडेका छन् ।
