
काठमाण्डौ । मैत्रीपुर्ण फुटबल खेलमा म्यानमारले नेपाललाई ३–० ले पराजित गरेको छ । विश्वकप छनोटको दोस्रो चरणको खेलको तयारीमा रहेको नेपाल आज भएको खेलमा म्यानमारसंग पराजित भएको हो । म्यानमारस्थित मण्डलाथिरी रंगशालामा पहिलो हाफमा २–० को अग्रता बनाएको म्यानमारले दोस्रो हाफमा १ गोल गर्दै सहज जित हात पारेको हो । खेलको तेस्रो मिनेटमा अग्रता बनाएको म्यानमारले पहिलो हाफको अन्तिम मिनेटमा अर्को गोल थपेको थियो । म्यानमारका म्यीन्ट तुन अउङ्गले हेडिङ मार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । डेभिड हटनले पहिलो हाफको अन्तिम समयमा दोस्रो गोल गरेका थिए ।
दोस्रो हाफमा पनि आफ्नो पकडलाई कायमै राखेको म्यानमारले ६९ मिनेटमा नेपालको पोष्टमा तेस्रो गोल गर्दै जित हात पारेको हो । कप्तान तथा पहिलो रोजाईका गोलरक्षक किरण चेम्जोङ र मिडफिल्डर रोहित चन्द बिनै मैदान उत्रिएको नेपालका रक्षा र अग्रपक्ति योजना अनुरुप मैदानमा असफल बनेपछि हार भोग्न बाध्य भयो ।
फिफा बरियतामा २० स्थान माथी रहेको म्यानमारबिरुद्ध नेपालले पनि केहि अवसर भने बनाएको थियो । तर नेपालले त्यसको सदुपयोग गर्दै अन्तर घटाउन असफल बनेको थियो ।
