
एजेन्सी । बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा फर्किएको छ । पछिल्लो खेलमा गएराती एट्लेटिको मड्रिडलाई १–० ले हराउदै बार्सिलोना तालिकाको शीर्ष स्थानमा फर्किएको हो । लियोनल मेसीले ८६ औ मिनेटमा गोल गर्दै टोलीलाई महत्वपुर्ण अंक दिलाएका थिए । खेलमा ६६ प्रतिशत बल पोजिशन आफ्नो पक्षमा पारेपनि बार्साका केहि प्रयास सफल बन्न नसक्दा ८५ मिनेटसम्म खेल गोलरहित बराबरीमा रहेको थियो ।
१४ खेलबाट ३१ अंक जोडेको बार्साले समान अंक भएको रियल मड्रिडलाई गोल अन्तरमा पछि पारेको हो ।
ग्रानाडालाई २–० ले हराएको एथ्लेटिको बिल्वाओ २६ अंकमा तालिकाको पाचौ स्थानमा उक्लिएको छ । गएराती नै सेभियाले लेगानेशलाई १–० ले स्तब्ध पार्दा स्पानियोल ओसासुनासंग ४–२ ले पराजित भयो । गेटाफेले लेभान्तेबिरुद्ध ४–० को शानदार जित हात पारेको छ । यो जितले गेटाफे २४ अंकमा तालिकाको सातौ स्थानमा उक्लिएको छ ।
