Logo

मलेसीयालाई ८ विकेटले हराउँदै पीएनजी तालिकाको दोस्रो स्थानमा

ई-खेलकुद २०७८ चैत्र १८ , शुक्रबार ०४:०४ मा प्रकाशित

काठमाडौं । पपुवा न्यु गिनी पीएनजीले त्रिदेशीय टी–ट्वान्टी क्रिकेट सिरिजमा पहिलो जित निकालेको छ । सिरिजको आफ्नो अन्तिम खेलमा पीएनजीले मलेसीयालाई ८ विकेटको फराकिलो अन्तरले हराउँदै फाइनल प्रवेशको संभावना कायमै राखेको हो । भोली हुने खेलमा नेपालले मलेसीयालाई हराए पीएनजी फाइनलमा पुग्नेछ । फाइनल पुग्न मलेसीयालाई भोली हुने नेपालविरुद्वको खेल जित्नै पर्ने दबाब छ ।
मलेसीयाले दिएको १ सय ९७ रनको लक्ष्य पीएनजीले १३ बल अगावै २ विकेट गुमाएर पुरा गर्यो । उसको जितमा अबिजित रहँदै टोनी उराले ८६ र असद भालाले ७४ रनको योगदान गरे । बिष्फोटक ब्याटिङ गरेका उराले ३४ बल खेल्दै १० छक्का र २ चौका प्रहार गरे । भालाले ८ चौका र एक छक्काको मद्दतमा सो रन बनाए । चाल्र्स अमिनीले २८ रनको योगदान दिए । मलेसीयाका महम्मुद वाफिक र स्याजरुल ईद्रिसले एक एक विकेट लिए ।
यसअघि किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको मलेसीयाले ६ विकेट गुमाएर १ सय ९६ रनको उच्च स्कोर तयार पारेको थियो । सायद अजिजले ६४ रन बनाएको मलेसीयाको ईनिङसमा कप्तान अहमद फैजले ६३ र जुवाईदी जुल्किफीले ४६ रन जोडे । भीरनदिप सिंहले १० रन बनाए । पीएनजीका काबुआ मोरियाले ४ तथा रिले हेकुरे र चाद सोपरले एक एक विकेट लिए । यो जितसँगै पीएनजी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । यसअघि पहिलो खेलमा मलेसीयाले पीएनजीलाई ८ रनले हराएको थियो ।
प्रतियोगीतामा भोली नेपाल र मलेसीया प्रतिस्पर्धामा उत्रनेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?