
एजेन्सी । नेपाली लेगस्पिनर सन्दिप लामिछाने आबद्ध मेलवर्न स्टार्सले बिग बास लिग क्रिकेटमा तेस्रो जित हात पारेको छ । चौथो खेलमा आज होबर्ट हुरिकेन्सलाई डकबर्थ लेबिस पद्धतीका आधारमा ४ रनले हराउदै मेलबर्न तालिकाको दोस्रो स्थानमा उक्लिएको हो । ८० रनको लक्ष्य पछ्याउने क्रममा ७ दशमलव ३ ओभरमा ३ विकेट गुमाएर ५५ रन बनाएको अवस्थामा बर्षा भएपछि डिएल मेथडका आधारमा मेलवर्न ४ रनले बिजयी भएको हो । उसको जितमा मार्कोस स्टोईनिसले २५ र पिटर हेण्ड्सकम्बले अबिजित २२ रनको योगदान गरे । होबर्टका जेमस फल्कनरले २ तथा रिले मिरिडिटले १ विकेट लिए ।
यसअघि टस जितेको मेलबर्नले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको हुरिकेन्सले ब्याटिङ गरिरहदा बर्षाले खेल प्रभावित भएपछि ११ ओभरमा छोट्याईएको थियो । हुरिकेन्सले निर्धारित ओभरमा ५ विकेट गुमाएर ६९ रनको योगफल तयार पारेको थियो । कालेव जेवेलले सर्बाधिक २६ र कप्तान बेन म्याकडोरमेटले १७ रन बनाएको ईनिङसमा अन्यले गतिलो ब्याटिङ गर्न सकेनन् ।
मेलबर्नका डेल स्टेन र नाथन कोउल्टलरले समान २ तथा डानिएल वोरलले १ विकेट लिए । २ ओभर बलिङ गरेका सन्दिपले ११ रन खर्चिएपनि विकेट हात पार्न सकेनन् । उनको दुबै ओभरमा ब्याट्सम्यानले बाउन्ड्री प्रहार गर्न सकेनन् ।
