
एजेन्सी । बंगलादेशबिरुद्धको दोस्रो टी–२० क्रिकेटमा घरेलु टोली ईण्डिया बिजयी भएको छ । राजकोटमा गएराती भएको खेलमा भ्रमणकारी टोलीलाई ८ विकेटले हराउदै ईण्डियाले ३ म्याचको सिरिज एक एकको बराबरीमा ल्याएको हो ।
बंगलादेशले दिएको १ सय ५४ रनको चुनौती ईण्डियाले २६ बल अगावै २ विकेट गुमाएर भेट्टायो । कप्तान रोहित शर्माले ८५ र शिखर धवनले ३१ रन बनाएपछि ईण्डियाले सहज रुपमा लक्ष्य भेटेको थियो । पहिलो विकेटका रुपमा शर्मा र धवनले १ सय १८ रनको साझेदारी गर्दै टोलीलाई सहज जित दिलाएका थिए ।
श्रेयस ऐर २४ र लोकेश राहुल ८ रनमा नटआउट रहदै टोलीको जित निश्चित पारे । अमिनुल ईस्लामले ईण्डियाको २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले ६ विकेट गुमाउदै १ सय ५३ रनको मध्यम योगफल तयार पारेको थियो । उसको ईनिङसमा महम्मद नाईमले ३६, सौम्य सरकार र मामुदुल्लाहले समान ३० तथा लिटोन दासले २९ रन बनाए ।
ईण्डियाका युजबेन्द्र चाहालले २ तथा वासिन्टन सुन्दर, खलिल अहमद र दिपक चहारले समान एक विकेट लिए ।
दुई राष्ट्रबिचको तेस्रो तथा निर्णायक टि–२० क्रिकेट आईतबार नागपुरमा हुनेछ ।
