
एजेन्सी । ईङलिस प्रिमियर लिग फुटबलका पछिल्ला खेलमा लेष्टर सिटि, म्यानचेष्टर सिटि, आर्सनल र साउथ हेम्प्टन विजयी भएका छन् । चेल्सी बराबरीमा रोकिदा टटनह्याम भने पराजित भएको छ । सिजनको १४ औ जित निकाल्ने क्रममा लेष्टरले न्यु क्यासल युनाईटेडलाई ३–० ले स्तब्ध पार्यो । पहिलो हाफमा २–० को अग्रता बनाएको लेष्टरले दोस्रो हाफमा १ गोल गर्दै जित हात पारेको हो । खेलको ३६ औ मिनेटमा आयोज परेजको गोलबाट खेलमा अग्रता बनाएको लेष्टरलले त्यसको ३ मिनेट पछि अर्को गोल थपेको थियो । जेम्स म्याडिसनले टोलीको अग्रता दोब्बर पारेका थिए । ८७ औ मिनेटमा हाम्जा चौध्रीले अर्को गोल गरेपछि लेष्टर सहज जित निकाल्न सफल बन्यो । २१ खेलबाट ४५ अंक जोडेको लेष्टर तालिकाको दोस्रो स्थानमा कायम छ ।
गएराती नै म्यानचेष्टर सिटिले एभर्टनबिरुद्ध २–१ को जित निकाल्यो । ग्राबियल जिसस चम्किदै २ गोल गरेपछि सिटि विजयी भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ५१ औ मिनेटमा जिससले सिटिलाई अग्रता दिलाएका थिए । ५८ औ मिनेटमा उनैले अर्को गोल गरेपछि सिटि २–० को अवस्थामा पुगेको थियो । ७१ औ मिनेटमा रिचार्लीसनले गोल गरेपछि एभर्टन २–१ को अवस्थामा पुग्यो । त्यसपछिको समय दुबै टोलीले थप गोल गर्न नसकेपछि सोहि नतिजा निर्णायक बन्यो । तेस्रो स्थानमा यथावत रहेको सिटिको २१ खेलबाट ४४ अंक भएको छ ।
म्यानचेष्टर युनाईटेडलाई २–० ले हराएको आर्सनल भने १० औ स्थानमा उक्लिएको छ । उसले दुबै गोल खेलको पहिलो हाफमै गरेको थियो ।
साउथ हेम्प्टनले टटनह्यामलाई १–० ले हराउदा वेष्टह्यामले बर्नमाउथलाई ४–० ले स्तब्ध पार्यो । गएराती नै वाटफोर्टले वोल्भरहेम्प्टनलाई तथा एष्टन भिल्लाले वर्नलीलाई समान २–१ गोल अन्तरले हराए । चेल्सी र ब्राईटन एण्ड होभ एल्बियन तथा नर्विच र क्रिष्टल प्यालेसले समान एक एकको बराबरी खेल्दै अंक बाँडेका छन् ।
