
एजेन्सी । लिभरपुलले ईङलिश प्रिमियर लिग फुटबलमा आफ्नो अपराजित यात्रालाई ११ औ खेलमा पनि निरन्तरता दिएको छ । पछिल्लो खेलमा एष्टन भिल्लालाई २–१ ले हराउदै लिभरपुलले अपराजित यात्रा कायमै राखेको हो । पहिलो हाफमै १–० ले पछि परेको लिभरपुलले खेलको अन्तिम समयमा २ गोल गर्दै जित हात पारेको थियो । २१ औ मिनेटमा ट्रिजे गुएटको गोलबाट एष्टनभिल्लाले अग्रता बनाएको थियो । ८७ औ मिनेटमा रोबर्टसनको गोलबाट खेलमा फर्किएको लिभरपुलका लागि ईन्ज्युरी समयमा सादियो मानेले गोल गर्दै खेलमा जित हात पारेको थियो । ११ खेलबाट ३१ अंक जोडेको लिभरपुल तालिकाको शीर्ष स्थानमा जमेर बसेको छ । गएराती नै म्यानचेष्टर सिटिले साउथ हेम्प्टनलाई २–१ ले हरायो । १३ औ मिनेटमा बनाएको अग्रता जोगाउन नसक्दा साउथ हेम्प्टन हार भोग्न बाध्य भयो । ७० औ मिनेटमा सर्जियो अगुईरो र ८६ औ मिनेटमा केल वाल्करले गोल गर्दै सिटिको जित निश्चित पारेका थिए । ११ खेलबाट २५ अंक जोडेको सिटि तालिकाको दोस्रो स्थानमा यथावत छ ।
अर्को खेलमा वाटफोर्टलाई २–१ ले हराउदै चेल्सी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । टामी अब्राहाम र क्रिष्टियन पुलिसिकको गोलमा चेल्सीले महत्वपुर्ण जित हात पारेको हो । वाटफोर्टका डेउलोफेउले सान्त्वना गोल फर्काएका थिए । ११ खेलबाट २३ अंक जोडेको चेल्सीले लेष्टर सिटिलाई ३ अंकले पछि पारेको हो ।
आर्सनल भने वोल्भरहेम्प्टनसंग एक एकको बराबरीम रोकिएको छ । पिरे एमेरिक आबुमियाङले २१ औ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएपनि अन्तिम समय सम्हालिन नसक्दा आर्सनल अंक बा“ड्न बाध्य भयो । ७६ औ मिनेटमा राउल जिमिनाजले वोल्भरका लागि बराबरी गोल गरेका थिए ।
गएरातीका अन्य खेलहरुमा ब्राईटन एण्ड होभ एल्बियनले नर्बिचलाई २–० ले, सिफिल्डले बर्नलीलाई ३–० ले तथा न्यु क्यासलले वेष्टह्यामलाई ३–२ ले पराजित गरे । म्यानचेष्टर युनाईटेड भने बर्नमाउथसंग १–० ले पराजित भयो ।
